× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    समुदायमा कोरोना सङ्क्रमित बढ्न थालेपछि थप दश दिन निषेधाज्ञा

    ४ वर्ष पहिले

    तनहुँ : समुदायस्तरमा कोरोना सङ्क्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भानु नगरपालिकामा थप दश दिन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको आज बसेको बैठकले नगरपालिकाका सम्पूर्ण क्षेत्रमा थप दश दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोनाको जोखिम बढ्दै गएकाले भानु नगरपालिकामा भदौ १५ गतेदेखि २४ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । यसअघि भानु नगरपालिकामा भदौ १ गतेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी थियो ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।

    निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

    भानु नगरपालिकामा शुक्रबार मात्रै २२ सङ्क्रमित थपिएका छन् । सार्वजनिक विवरण अनुसार कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् । त्यस्तै भानु नगरपालिका–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, , २७ र ३८ वर्षीया पुरुष छन् । त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    कोरोना सङ्क्रमण पुष्टि हुनेहरु सबै समुदायका व्यक्तिहरु रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले पछिल्लो चरणमा भदौ १० गते १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

    भानु नगरपालिकामा भदौ ९ गते पनि वडा नं १ मा ६ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै भदौ ४ गते दुई, साउन ३२ गते एक, साउन ३१ गते दुई, साउन ३० गते २०, साउन २७ गते एक जना समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो

    यो सहित तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ भने निको हुनेको सङ्ख्या १ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिकाले भने लकडाउनलाई खुकुलो बनाउँदै थप सतर्क हुन आग्रह गरेको छ भने म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा भदौ १७ गतेसम्म लकडाउन कायम गरिएको छ ।