× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मनोरञ्जन

    यस वर्षको ‘पामे फिल्म एण्ड म्युजिक फेस्टिभल’ भर्चुअल माध्यमबाट

    ४ वर्ष पहिले

    काठमाडौँ — यो वर्ष अधिकांश फिल्म फेस्टिभल कोरोना महामारीले गर्दा आयोजना हुन सकेनन् । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि कोरोनाको प्रभाव देखियो । तर महामारीबीच पनि केही फेस्टिभल डिजिटल माध्यमबाटै आयोजना गरिए । 

    पोखराको ‘पामे फिल्म एण्ड म्यूजिक फेस्टिभल’ पनि यो पटक भर्चुअल रुपमा आयोजना भएको छ । बिहीबार फेस्टिभलको तेस्रो दिन हो । कोरोनाले गर्दा भौतिक रुपमा फेस्टिभल गर्न नसकेपछि यो फेस्टिभल ‘चलचित्र टिभी एप’मार्फत आयोजना भइरहेको छ । सेप्टेम्बर १ देखि सुरु भएको यो फेस्टिभल सेप्टेम्बर २८ सम्म चल्नेछ ।

    फेस्टिभलको यो चौथो संस्करण हो । ‘कोभिडले गरेर नै भर्चुअल माध्यम रोज्यौं । हाम्रो पहिलो प्रयास हो। परिस्थिति अनुसार चलेका हौं । सम्भवत: त यो वर्षको पहिलो भर्चुअल फिल्म फेस्टिभल हो यो,’ फेस्टिभलका कोर्डिनेटर प्रवीन कार्कीले भने ।

    पोखरा र केही फिल्मकर्मीबीच सीमित हुने फेस्टिभल भर्चुअल माध्यमबाट आयोजना गर्दा धेरै दर्शकबीच पुगेको उनी सुनाउँछन् । धेरै फिल्मकर्मीले डिजिटल माध्यममार्फत फेस्टिभल आयोजना नगर्न सल्लाह दिएका थिए । ‘फिल्मको सुरक्षा विभिन्न कारण देखाउँदै अनलाइन नगरौं भन्नु भयो । अनलाइन भएर अलि धेरै फिल्ममेकर अनकनाउनु भयो,’ प्रवीन सुनाउँछन्, ‘हामीलाई यस्तो खालको संयन्त्र चाहिएको थियो जसमा पाइरेसीको डर नहोस् । त्यही हिसाबले चलचित्र एपको संयन्त्र बलियो लाग्यो । त्यसैले हामीले फेस्टिभलको लागि यो एपसँग सहकार्य गर्‍यौं ।’

    खासमा एपमा पैसा तिरेर फिल्म हेर्नुपर्छ । तर यो फेस्टिभलका फिल्महरु दर्शकले नि:शुल्क हेर्न पाउनेछन् । फिल्महरु नि:शुल्क प्रदर्शन गर्दा अधिकांश दर्शक फेस्टिभलमा जोडिएको प्रवीन बताउँछन् । ‘भौतिक रुपले फेस्टिभल आयोजना गरेको भए सीमित ठाउँ र दर्शक हुन्थ्यो होला। तर अनलाइन गरेको भएर धेरै ठाउँबाट प्रतिक्रियाहरु आइरहेको छ । अन्तर्राष्ट्रिय फिल्म क्षेत्रका साथीहरुबाट पनि राम्रै प्रतिक्रिया आइरहेको छ,’ उनले भने ।

    हरेक दिन फेस्टिभलमा एउटा फिचर फिल्म देखाइन्छ । लघु फिल्म भने प्याकेजमा देखाइएको छ ।