× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्लाज्मा थेरापीबाट भरतपुर अस्पतालमा कोरोनाको सफल उपचार

    ४ वर्ष पहिले

    चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो ।
    गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । पुरुषलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए ।

    उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिए । करिब १५ दिन आइसियु र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मङ्गलवार घर फर्कीएका छन् ।

    प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ । अस्पतालले अन्य सङ्क्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए ।

    रासस