× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    यो वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

    ४ वर्ष पहिले

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।
    प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए ।

    प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।

    प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

    वि. संं. २०१४ असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यसको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२र०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ ।