× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन घटनाबारे केन्द्रीय नेताबीच आरोपप्रत्यारोप : नारायणकाजीलाई सूर्य थापाको जवाफ

    ४ वर्ष पहिले

    चितवनमा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आरोप प्रत्यारोप सुरु भएको छ।

    शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता पाण्डेविरुद्ध कार्यकर्ताले नाराबाजी गरेका थिए।

    उक्त नाराबाजीको घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेपछि ओली समूहका नेताले पनि जवाफी प्रत्यारोप लगाएका छन्।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका थिए।

    ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्’, श्रेष्ठले ट्विटरमा लेखेका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेकाे भन्दै रोष प्रकट गरेका छन्।

    उनले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ! गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’