× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव आयो भने हामीले अवश्य विचार गर्छौँ : ने.का. सभापति देउवा

    ४ वर्ष पहिले

    काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ ।

    नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक छन् ।

    नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् । ‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले कांग्रेसले सरकारले जाने कुरा सोच्नु पनि निरर्थक हो । हामीलाई जनताले दिएको मत नै प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनका लागि हो । हामी प्रतिपक्षमै रहन्छौँ । बरु आवश्यकता प¥यो भने हामी फ्लोर समर्थनचाहिँ गर्न सक्छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘०५२ सालमा एमाले पहिलो पार्टी बन्दा पनि हामीले मनमोहन अधिकारीजीलाई प्रधानमन्त्री बनाउन फ्लोर समर्थन गरेकै हो ।

    त्यसवेला कांग्रेसकै सहयोगमा उहाँहरूले नौ महिना सरकार चलाउनुभएको थियो । त्यसकारण संसदीय अभ्यासमा फ्लोर समर्थनका आधारमा पनि सरकार चल्छ । हाम्रो चाहना त कुनै पार्टी नफुटोस्, बरु सरकारले राम्रो काम गरोस्, देशको हितमा, जनताको हितमा भन्ने हो ।’

    त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन सकिने सम्भावना औँल्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखाएका छन् ।

    झन्डै दुईतिहाइको नेकपाको सरकार रहेको तथा संसद्मा सत्तारुढ दलभन्दा अंकगणितका हिसाबले धेरै पछाडि रहेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देख्नु अर्थपूर्ण राजनीतिक परिघटना हो ।

    तर, नेता गोपालमान श्रेष्ठले आफूले मंगलबार पार्टी सभापतिसँग अन्तरंग कुराकानी गरेको र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्थामा सोच्न सकिने उहाँको धारणा रहेको बताए । ‘कांग्रेसकै नेतृत्वमा सरकार बनाऊ भनेर प्रस्ताव आयो भने छलफल गर्न सकिने कुरा हो,’ सभापति देउवाको धारणा उद्धृृत गर्दै श्रेष्ठले भने ।

    ‘अहिले कांग्रेस सरकार जान आत्तिएको होइन । अब भोलि उहाँहरूले साँच्चिकै देश चलाउन सक्नुभएन भने र कांग्रेसले एकलौटी सरकार चलाउन पायो भने त्यो वेलामा कांग्रेसले सोच्छ ।

    कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव आयो भने हामीले अवश्य विचार गर्छौँ । अर्काको नेतृत्वमा त किन जाने र ?’ उनले नयाँ पत्रिकासँग भने, ‘मैले मंगलबार सभापतिजीसँग भेटेर अन्तरंग कुराकानी नै गरेँ । र, मैले बुझेसम्म एउटा कुराचाहिँ के प्रस्ट हुनुस् भने अहिले आठवटा होइन, १५ वटा मन्त्रालय दिए पनि कांग्रेस सरकारमा जाँदैन ।’ नयाँ पत्रिका दैनिकबाट