× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार,अब ८ कक्षासम्म सय पूर्णाङ्कको नेवारी विषयको पढाई हुने

    ४ वर्ष पहिले

    काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो।

    नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो।

    महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। ‘महानगरको ५१ ‍औ कार्यपालिका बैठकले यही चालु क्षैक्षिक सत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरिसकेको छ,’ महानगर शिक्षा विभागका अधिकृत मोती खनालले भने, ‘हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौं। तर, कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाई भएको छ। यद्यपि, हामीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएका छौं।

    उनले काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेको र संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिए ।

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गरेका हौँ,’ उनले भने।

    काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपालभाषामै तयार गरेको जानकारी पनि दिएको छ।

    काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो।

    महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ। पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ। पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ।

    यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ। पहिलो पोष्टबाट