४ वर्ष पहिले
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसद विघटन गरेको छ ।
आफ्नो गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि प्रधानमन्त्री नेतान्याहूले संसद् विघटनको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।
रक्षा मन्त्री बेन्नी गान्ट्जसँग मिलेर गठबन्धन सरकार बनाएका नेतान्याहुले कुरा नमिलेपछि बुधवार संसद विघटनको घोषणा गरेका हुन्।
संसद् विघटनसँगै सरकारले आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरेको छ । विश्वव्यापी महाव्याधि कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै इजरालयमा सरकारको तीव्र आलोचना भइरहेको छ ।
गान्ट्जसँग मिलेर गठबन्धन सरकार बनाएका नेतान्याहुले आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका साथ गत अप्रिलमा गठबन्ध सरकार गठन निर्माण गरेका थिए। जस अनुसार नेतान्याहुले १८ महिना सरकार संचालन गर्ने र गान्ट्जले सन् २०२१ को नोभेम्बरमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
गान्ट्जले देश र गठबन्धनमा स्थायित्वका लागि सन् २०२० र २०२१ गरी दुवै वर्षका लागि बजेट पारित हुनुपर्ने बताएका थिए। तर, नेतान्याहुले सन २०२१ को बजेट प्रस्ताव अनुमोदन गर्न मानेनन्। आफू सत्तामा रहिरहन र गठबन्धनलाई अस्थिर बनाउन नै नेतान्याहुले गान्ट्जको प्रस्ताव अस्वीकृत गरेको विश्लेषकहरुको दाबी छ।
यो पछिल्लो दुई वर्षमा यहाँ चौथोपटक आम निर्वाचनको हुने भएको हो ।