× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ओलीविरुद्धको शक्ति प्रदर्शनमा नारायणकाजी र अन्य नेताहरु बिच भनाभन

    ४ वर्ष पहिले

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले काठमाडौँमा गरेको शक्ति प्रदर्शनको क्रममा नेताहरुबीच मंचमै भनाभन भएको छ ।

    सभालाई व्यवस्थापन गर्नै धौधौ भएको प्रचण्ड–माधव समूहलाई समयको पालना गर्न सजिलो भएन। ठाउँ-ठाउँबाट सडकमा निस्केका जुलुस पौने १२ बजेको तोकिएको समयमा नपुग्दा सभा ढिलोगरि मात्रै सुरु भयो। सभा सुरु हुनुअघि नै मञ्चमा भएका नेताहरूमा केही विवाद भएको देखियो। सबै नेता मञ्चमा देखिसकेको भए पनि पार्टी प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठ देखिएनन्। उनी नदेखिएपछि सभा सञ्चालनको जिम्मेवारी पाएकी स्थायी कमिटी सदस्य पम्फा भुसालले मञ्चबाटै बोलाइन। उनी आएपछि प्रचण्ड र उनीबीच केहीबेर भनाभन भयो। सहभागी र लाउडस्पिकरको ठूलो आवाजका कारण उनीहरुबीच भएको विवाद के थियो सहभागीले थाहा भने पाएनन्।

    प्रचण्ड र नारायणकाजीबीच विवाद हुन थालेपछि मञ्चको पछाडि बसेका स्थायी कमिटीका नेताहरूले उठेर मध्यस्थताको भूमिका निभाएका थिए। नाराणकाजी भने त्यसपछि गमक्क देखिए। उनी कार्यक्रमभर खुसी देखिनन्। उनले कोही कसैसँग पनि कानेखुसी गरेनन्। सभाध्यक्षको भूमिकामा रहेका श्रेष्ठले सभा विसर्जन गर्न पनि मानेनन्। उनले नबोलेपछि सभा सञ्चालक भुसाल आफैँले श्रेष्ठको निर्देशनमा सभा सकिएको घोषणा गरिन्।