× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रपतिद्वारा गङ्गामायाको जीवनरक्षा गर्न पहल

    ४ वर्ष पहिले

    राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् ।

    राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको स्मरण पनि गरिन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै गोर्खा फुजेलकी गङ्गामाया गत पुस ६ गतेदेखि अनशनमा बसेकी छिन् ।

    राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार संवैधानिक अङ्गका नवनियुक्त प्रमुख र सदस्यसँग राष्ट्रपतिले नियमित भेटघाट गर्ने क्रममा आज सो भेट भएको हो ।

    कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ ।