× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले विभाजन तर्फ अग्रसर,नेपाल–प्रचण्डको सामीप्यता बढ्यो

    ३ वर्ष पहिले

    चैत्र-१३, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले नेकपा एमाले विभाजन तर्फ अग्रसर भएको देखिन्छ ।

    एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाल लगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो ।

    यसअघि नेकपामा रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपालसँग मिलेर अर्का अध्यक्ष ओलीमाथि १९ बुँदे आरोप लगाएका थिए । त्यही आरोपपछि नै पार्टीमा विभाजनको रेखा कोरिएको थियो । अहिले एमालेका वरिष्ठ नेता नेपालले पनि सोही आरोपपत्र सँग मिल्दोजुल्दो जवाफीपत्र लेखेपछि नेकपा एमाले विभाजनको अवस्थामा पुगेको हो ।

    अध्यक्ष ओलीलाई कडा जवाफ दिँदै नेता नेपालले ‘विधानअनुसार तपाईंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । स्पष्टीकरणको जवाफ दिँदै नेपालले बुझाएको पत्रमा आफूलाई स्पष्टीकरण सोध्नु अवैध कार्य भएको दाबी गरेका छन् । आठ पृष्ठ लामो पत्रमा १३ बुँदे जवाफमा नेपालले ओलीलाई नै कारबाही भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

    नेता नेपालले नेकपाबाट एमालेमा फर्कनुपर्दाको अवस्थाप्रति आक्रोश पोखेका छन् । ‘निर्वाचन आयोगले ‘पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनू’ भनी दिएको सूचनाबारे केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपार्इंले छलफल किन गराउनुभएन ?’ नेपालले दिएको स्पष्टीकरणपत्रमा प्रश्न गरिएको छ ।

    ‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामको राजनीतिक दल नरहने भएकाले साबिकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए निर्वाचन आयोगमा जानू भनी गरेको फैसला तथा सोहीअनुरूप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाबारे केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपार्इंले छलफल किन गराउनुभएन ? यसरी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित बनाइ राख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ? ’ नेपालले उल्टै प्रश्न गरेका छन् ।

    नेता नेपाललगायत अन्य नेताहरू रावल, भुषाल र पाण्डेले पनि जवाफमा उल्टै अध्यक्ष ओलीमाथि प्रश्न तेस्र्याएका छन् ।

    एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ ।

    नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ । दुई नेताको छलफलमा २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ ।

    यसअघि नेकपामा रहँदा पनि नेपाल र प्रचण्ड मिलेर ओलीविरुद्ध मोर्चाबन्दी कसेका थिए । ओलीलाई नेकपाको साधारण सदस्यताबाट हटाएका नेपाल र दाहाल पुनः पार्टी एकता कायम गराउने कसरतमा जुटेका छन् ।