× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा युके भेरियन्टको कोरोना भाइरस समुदायमा फैलिँदै

    ३ वर्ष पहिले

    बैशाख-२, नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’को कोरोना भाईरस फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

    बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

    कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ ।विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ ।

    बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यका अनुसार भारतमा संक्रमणदर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्नेछ ।

    ‘संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजेटिभ दर पनि बढेको छ,’ कर्माचार्यले भने, ‘परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्नेछ ।’ कर्माचार्यका अनुसार बेलायती प्रजातिको सर्ने दर ४३ देखि ९० प्रतिशतसम्म छ । यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउन सक्ने देखिएको छ । बेलायती प्रजातिमा लक्षण देखिने सम्भावना अन्य प्रजातिभन्दा बढी रहेको छ ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार बालबालिका नयाँ भेरियन्टको जोखिममा छन् । भेरियन्ट समुदायमा फैलिरहेको भन्दै परीक्षण गराउन जनस्वास्थ्य विज्ञले बताएका छन् ।

    त्यस्तै, नेपालमा ‘डबल म्युटेसन भेरियन्ट’ कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. पौडेलका अनुसार हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेसन भेरियन्ट’ पुष्टि भएको छ ।

    सरकारले नेपालमा नयाँ प्रजातिको भारइस फैलिएको हुन सक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’का लागि नमुना हङकङमा पठाएको थियो । ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो ।

    ‘डबल म्युटेसन पुष्टि भएको नमुना ललितपुर जिल्लाको हो,’ डा. पौडेलले भने, ‘यसबाट पनि नेपालमा यूके भेरियन्ट फैलिसकेको पुष्टि हुन्छ ।’ राजधानी दैनिकबाट