× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नागढुङ्गा–मुग्लिन सडक विस्तार गरिदै

    ३ वर्ष पहिले

    बैशाख-६, सरकारको योजना अनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । आगामी आ.व. देखि नागढुङ्गा–मुग्लिन सडक बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।

    सो सडकको लम्बाइ ९२ किमी छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा बिस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक योजनाले जनाएको छ । तीन खण्डमा नागढुङ्गा–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरेर बिस्तार गरिने छ । तीन खण्डमध्ये नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए।

    उनका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृति पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ । उनले भने, “आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ ।”

    बिस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए। सो खण्डमा अहिले रुख र पोल सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उनले बताए

    सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यही छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनले भने। उनले भने, “सडकको केन्द्रबाट १५-१५ मिटर लिँदा ठूलो समस्या हुने छैन ।”

    सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको प्रमुख रिमालले बताए। सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ । उनले भने, “ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन ।”

    काठमाडौँ उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारीसाधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुङ्गा–मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिन्छ । मुग्लिन–गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारीसाधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उनले बताए।

    यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ । गल्छीबाट नागढुङ्गासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी–लामिडाँडा–भीमढुङ्गा र सीतापाइला–धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ ।

    पहिले छ/सात मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी बिस्तार गर्न लागिएको हो । पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी सडक जामको समस्या हल हुने आशा गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ ।

    सरकारले नागढुङ्गा–सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौँ भित्रने वा काठमाडौँबाट बाहिर जाने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् ।