× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक

    ३ वर्ष पहिले

    असार_१०, भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    महानगरले बिहिबार नगर सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास,कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

    नवौं नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

    यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट रु ३० करोड,बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट रु ३ करोड,सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

    अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

    पुराना नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेका आयोजना तथा परियोजनालाई समेत निरन्तरता दिने जनाएको भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको छ । यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट रु ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

    यस्तै,महानगरपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा १ करोड ७० लाखका दरले ४९ करोड ३० लाख,भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड,शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख,स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट समेत छुट्याइएको महानगरले जनाएको छ ।