३ वर्ष पहिले
नेवाः जाती नेपाः उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणाली सँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर तिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो वर्चस्व कायम गरेर वैदिककाल पुर्वका संस्कृति विकास गर्न सफल भएको देखिन्छ । त्यस मध्ये मनसुन वर्षा प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण साँस्कृतिक चलन भनेको भ्यागुतालाई भात खुवाउने परम्परा हो ।
असारमा बाली लगाएपछि बालीमा किरा फट्याङ्ग्रा लागेर बाली बिग्रिने सम्भावना रहेको हुन्छ । भ्यागुता यस्तो जीव हो जसले ती किरा फट्याङ्ग्रा खाएर किसानहरुलाई बाली बिग्रनबाट बचाउछ । त्यसैले भ्यागुताको यस्तो गुण सम्झेर भ्यागुतालाई भात खुवाउने चलन सुरु भएको भन्नेमा सत्यता बढी हुन सक्छ यस्तै भ्यागुतालाई भात खुवाउने चलन पछाडि एउटा दन्त्य कथा प्रख्यात रहेको छ जुन यहाँ प्रस्तुत गरिन्छ ।
कुनै बेला कुनै एक नेवाः वस्ती अासपासमा एक दानव/ राक्षस बस्दथ्यो । उसको काम भनेकै त्यो वस्तीमा साँझ बिहान गएर त्यस वस्ती भित्रका बालबच्चाहरुलाई अपहरण गरेर तिनीहरुलाई मारी तिनीहरुको आहार गर्ने थियो । त्यस वस्तीका मान्छेहरु यसबाट निकै त्रसित थिए र त्यस दानवसँग छुट्कारा पाउन चाहन्थे । त्यस दानवलाई मार्न अनेकौं प्रयास गरे तर सकेनन् । असार श्रावणको धान रोप्ने बेला धान रोप्न सबै परिवार खेतमा गइरहेको समयमा त झन् त्यो दानवलाई वस्ती भित्र गएर त्यहाँ खेल्दै गरेका बच्चाबच्चीहरु टिप्न सजिलो थियो । यसरी मान्छेहरु निकै भयवीत भएर बाँचिरहेका थिए ।धन्न मान्छेहरुको यो विरह ती खेतबारीमा चहार्दै उफ्रने भ्यागुताहरुले महसुस गरिरहेका थिए र तिनीहरुमध्ये बुद्धिमान एक भ्यागुताले त्यो दानवलाई मार्नका लागि एउटा उपाय निकाले ।
एक दिन सदा झैं त्यो वस्तीका बालबच्चाहरु खोज्न त्यो दानव खेतबारीको बाटोबाट हिडिरहेको थियो । त्यस बुद्धिमान भ्यागुतोले उफ्रदै त्यस दानवको अगाडि पुगेर ठूलो स्वरले कता जान लागेको भनेर सोधे । दानवले मान्छेहरुको बच्चा टिप्न जान लागेको भनेर जवाफ दिए । ” हरे, मान्छेहरुको बच्चा पो खान हिडेको रहेछ यो कायर दानव त, बहादुर नै भए म जस्तो सानो भ्यागुतालाई टपक्क टिपेर खान सक्छौ र ? ” भनेर त्यस भ्यागुताले त्यो दानवलाई गिज्याउन थाले । रिसमा चुलुम्म डुबेर त्यस दानवले आफ्नो बाटोबाट हट्न धम्की दिए । तर भ्यागुताले उक्साइरहे । निहुँ नै खोजेको हो भनेर हतन्नपत त्यस दानवले त्यो भ्यागुतालाई टिप्न आफ्नो हात बढाए, त्यत्तिकैमा पछाडिका दुइटा खुट्टा तन्काएर भ्यागुता उफ्रेर त्यहाँबाट अर्को ठाउँमा पुगे । दानवले फेरि टिप्न खोजे तर फेरि त्यो भ्यागुता उफ्रेर अगाडि बढे । दानवको रिस झन् चढ्दै गयो, आफुलाई सम्हाल्न सकेनन् । भ्यागुता भने झन् झन् गिज्याउदै रमाउदै थियो । दानवले आफ्नो रिस काबुमा राख्न सकेनन् र लछारपछार गर्दै त्यो भ्यागुतालाई टिप्न संघर्षरत थिए । चतुर भ्यागुताले त्यसरी उक्साउदै खेतको दलदल हिलो भएको ठाउँमा त्यस दानवलाई लग्न सफल भयो । भ्यागुताले त्यस दलदल हिलो पार गर्न सक्यो तर त्यो दानव भने त्यसैमा दबिएर फसे । हिलो बाट उम्किन यताउता चलेर प्रयास गर्न खोजे तर झन् झन् दबिएर जिउ जम्मै हिलो मुनि पसेर टाउको मात्रै देखिने अवस्थामा पुगे । आफ्नो चलाखीपन सफल हुन खोजेको देखेर छिटो छिटो उफ्रदै त्यो भ्यागुता त्यस वस्तीका मान्छेहरुलाई त्यो दानव हिलोमा दबिएको कुरा सुनाउन गए । मान्छेहरु खुशी हुँदै सबैले छ्वाली बालेर त्यो दानव भएको ठाउँमा गएर दानवलाई आगो बालेर अन्ततः दानवलाई मार्न सफल भए ।
यो दिन थियो श्रावण कृष्ण चतुर्दशीको दिन यानी गथामुंगको दिन । यसै घटनालाई याद गरि नेवाः समुदायहरु गथामुंग पर्व मनाउन थालेको भनिन्छ जहाँ प्रत्येक नेवाः घरबाट छ्वाली बालेर नजिकैको दोबाटो यानी ‘छ्वास’ सम्म बलेको छ्वाली विसर्जन गरी भुत भगाउन जानुपर्छ । त्यस घटना पछि सबै मान्झेहरुलेे त्यस भ्यागुता प्रति कृतज्ञ भई १५ दिन पछि पुर्णिमाको बेला भ्यागुतालाई ८४ व्यञ्जन राखेर भात खुवाउने परम्पराको विकास गरे जुन अहिले सम्म कायम हुँदै आएको छ । गथामुंग देखि गुंला महिनाको प्रत्येक दिन फेरि लाखे नचाउने परम्पराको पनि विकास भयो जुन लाखे त्यही पराजित दानवको प्रतिकात्मक स्वरुप हो । लाखे नचाउनुको विभिन्न कारण मध्ये एउटा मान्छेहरुमा डर पैदा गर्नु हो पनि भनिन्छ किनकी मान्छेहरुले डराएपछि मात्रै जीवनमा सजक सतर्क भएर बाँच्न सक्छन् र कुशल पुण्य समयमै सञ्चय गर्न सक्दछन् । यसरी गुंला महिनाको पुर्णिमाको बेला भ्यागुताले दानवलाई पार लगाएको घटना सम्झी भ्यागुतालाई भात खुवाउने चलन विकास भएको हो भन्ने विश्वास गरिन्छ ।