× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सम्पादकीय

    सरकार महँगी नियन्त्रण गर

    ३ वर्ष पहिले

    अबको २० दिनपछि अधिकांश नेपालीहरुको प्रमुख चाड दसैं सुरु हुदैछ ।त्यसको लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ ।तर, यी प्रमुख चाडमा बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् ।

    करिब दुई वर्षको अवधिमा कोरोनाले थिल्थिएको नेपाली अर्थतन्त्रमा दैनिक उपभोग्य सामग्री तथा तरकारीको मूल्य वृद्धि भएपछि उपभोक्ताहरु पीडित भएका छन् । विशेषगरी, चाडपर्वको समयमा उपभोक्ताको ढाड सेक्ने गरी अस्वाभाविक मूल्य वृद्धि भइरहेको भएपनि सरोकारवाला निकाय मौन भइदिँदा सर्वसाधारण मर्कामा परिरहेका छन् ।

    अहिले बजारमा हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुगेको छ । खाने तेलको मूल्य प्रतिलिटर २ सय ६५ देखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । गत वर्षको लकडाउन अघिसम्म सनफ्लावर तेल प्रतिलिटर १ सय ६५ रुपैयाँमा पाइन्थ्यो । तर, अहिले लिटरमै १ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ । गत वर्षको दसैंताका चिनी प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले ९५ देखि सय रुपैयाँसम्म पुगिसकेको छ ।

    त्यसैगरी मुसुरो दाल प्रति केजीमा नै करिब ४० रुपैयाँ वृद्धि भएको छ । जिरा मसिनो चामलमा प्रतिकेजी १० देखि १५ रुपैयाँ सम्म वृद्धि भएको छ ।

    यो अवस्थामा महँगी नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्ने हो तर सरकार मूकदर्शक बन्दा जनता भने मारमा परिरहेका छन् ।अहिले बजारमा दैनिक उपभोग्य वस्तु हरियो तरकारी, चिनी, खाने तेल, दाल, चामल, गेडागुडीसमेत सबैको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्ने काम सरकारको हो । तर, सरकारले नियन्त्रणका लागि आवश्यक पहल नगर्दा कालोबजारीको मनोबल झन् बढ्दै गएको छ ।

    बजार अनुगमन र कारबाहीको अधिकार पाएका सरकारी कर्मचारीलाई नै ठूला उद्योगी र व्यापारीले आफ्नो खल्तीमा राख्ने गरेको आरोप लाग्दै आएको छ । तर, यो आरोप चिर्नका लागि पनि उनीहरूले चित्त बुझ्दो पहल गरेको देखिँदैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेलाबेलामा बजार अनुमगन त गर्छ तर दोषी व्यापारीलाई केही नगर्दा पनि समस्या भएको हो ।

    जबसम्म कालोबजारी र बिचौलिया नियन्त्रण गर्न सकिँदैन, उपभोक्ता यसरी नै महँगीको मारमा पिल्सिरहने छन् । बजारलाई आफ्नो नियन्त्रणमा राख्ने व्यवसायी, बिचौलिया र मनोमानी गर्ने विरूद्ध कार्वाही नगरेसम्म उपभोक्ताले यस्तै सास्ती बेहोरिरहनु पर्नेछ ।

    नजिकिदो चाडपर्वमा मात्र होइन हर हमेशा सरकारले जनतालाई महंगीको चपेटाबाट बचाउनु पर्दछ ‌। जनताको अभिभावकत्व ग्रहण गरेर सरकारले निरासिएको जनताहरुमा उत्साह भर्नपनि महंगी नियन्त्रण गर्नु पर्दछ । त्यसैले सरकार महंगी नियन्त्रण गर ।