× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    म्ह पुजा: विज्ञानमा आधारित एक चाड-गौतमबुद्ध बज्राचार्य

    ३ वर्ष पहिले

    कार्तिक-१९, ‘ओँम आः हुं तिष्ठ बज्रासने हुं ।।’ अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई विशेष ‘मण्डप’मा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो ।

    काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुनेनराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ । व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुनेछ, जसलाई धर्माेदय भनिन्छ ।

    कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको ‘म्ह पूजा’ गर्दा माथिका श्लोकहरुको उच्चारण गरिन्छ । यो ‘म्ह पूजा’ हजारौँ वर्षदेखि मुलुकको राष्ट्रिय गौरवका रूपमा देशभरि मात्र सीमित नरही विभिन्न मुलुकमा बसोवास गर्दै आएका नेपालीले भब्य तथा उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् ।

    नेवार समुदाय अमेरिका, बेलायत, फ्रान्स, रुस, अष्ट्रेलिया जापानजस्ता थुप्रै मुलुकमा छरिएर रहेका छन्। उनीहरुले विदेशमा रहेर पनि संस्कृति तथा चाडपर्वलाई विर्सेका छैन र त्यहाँ वसेर आफ्नो परम्परालाई निरन्तरता दिँदै ‘म्ह पुजा’ गर्ने गर्दै आएका छन्।

    मोहनी सकिएलगत्तै सुरु हुने स्वन्ति नखः अन्तर्गतको ‘म्ह पूजा’ गैरनेवार समुदायसहित नेपाल भ्रमणमा रहेका विदेशी नागरिकबीच पनि लोकप्रिय छन् । नेपालमा आउँदा उनीहरुले पनि नेवार समूदायवीच समूहसमूहमा बसेर म्ह पुजा गरी रमाइलो गरेर गएका छन् । अरु समुदायको भन्दा छुट्टै विशिष्ट पहिचान भएको ‘म्ह पूजा’मा विशेष प्रकारको मण्डप बनाई तयार गरिने हुँदा ‘मण्डप‘ हेर्ने जो कोही दर्शकको मन तान्दछ ।

    नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले ‘म्ह पूजा’ (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ । ‘म्ह पूजा’को दिन अर्थात यही मङ्गसिर १ देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु हुन्छ । यो दिन देशभरी न्हूदँया भिँतुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गरिन्छ ।

    वर्षभरी प्रत्येक महिनाजसो कुनै न कुनै नखःचखः(चाडपर्व)मनाउँदै देवदेवीको पुजामा अभ्यस्त हुने नेवार समुदायले ‘म्ह पुजा’को दिनभने आफ्नो शरीर आफै पुजा गर्ने प्रचलन छ । आफू नै ‘ईश्वर’ हो भन्ने मान्यता रहेको यो पर्व आधुनिक विज्ञानमा आधारित सर्वश्रेष्ठ चाडपर्व हो ।

    आफ्नो शरीरभित्र रहेको चित्त शुद्धिकरण गर्न हजारौँ वर्षदेखि नेवार समुदायले ‘म्ह पूजा’ गर्दै आइरहेको छ । ‘म्ह पूजा’ औँशीको दिन गर्न नहुने मान्यता छ । सूर्योदयका साथ आएको चन्द्रमाको तिथिअनुसार ‘म्ह पूजा’ मनाउनुपर्छ ।

    नेवार समूदायमा ‘म्ह पुजा’ गर्दा कुनै घडि, पला, हेरेर साइत निकाल्नु पर्दैन् र सँधै बेलुका ‘म्ह पुजा’ गर्ने चलन छ । स्वन्ति नखः (तिहार) का सबै दिन खुशीयालीका दिन भएकाले ‘म्ह पूजा’ तथा नेपाल संवत् ११४१ कछलाथ्व पारुका दिन मनाइन्छ । स्वन्ति नखः मनाउँदा तिथिको दोहोरोपन अथवा तिथि छुटको गणना हुँदैन ।

    ‘म्ह पूजा’का दिन बिहान सबैरै नुहाइधुवाई गरी आफूलाई परिशुद्ध गरी विभिन्न मौलिक नेवारी खाद्य परिकार तयार गरी मनाइने यो पर्वमा विशेष प्रकारको ‘मण्डप’ बनाइन्छ, जसलाई नेपाल भाषामा ‘मन्दः ’ भनिन्छ । आजभन्दा २६०० वर्षअघि विकास भएको बौद्ध धर्मअन्तर्गतको बज्रयान बौद्धधर्मका अनुयायीले उल्लासकासाथ मनाउँदै आएको यस चाडमा तन्त्रयान, मन्त्रयानका साथै गुह्य दर्शन लुकेको छ ।

    बुद्ध, धर्म र सङ्घकासाथै विशेष मन्त्रोच्चारणका साथ ‘म्हपुजा‘को आरम्भ हुन्छ । यो पुजामा संसारका सवै सत्व प्राणीको उद्धार कामना गर्दै संङ्गकल्प गर्नुका साथै श्रीस्वयम्भू महाचैत्य धर्मधातु, गुरु बुद्ध, गुरु धर्म, गुरु संङ्घको स्मरण गर्नुका साथै सबै पाप नाश गरी काय, वाक , चित्त, शुद्ध गर्ने प्रण गरिन्छ ।

    अर्थात व्यक्तिले शरीरबाट गरिने अकुसल तथा खराब काम नगर्ने र सबै प्राणीको उद्धार गर्ने संङ्कल्प गरिन्छ । आठ पाते (कमलको आठवटा पात) अथवा कमलको आकृति भएको मण्डपमा ‘जल मण्डप’ (पानीको मण्डप), ‘पोताय् मण्डप’ (एक प्रकारको सेतो रङबाट बनाइएको मण्डप) तथा ‘तेल मण्डप’ बनाई ‘आखे’ (सिङ्गो चामल), ‘ताय्’ (लावा), ‘ग्वगु माय’ (सिङ्गो मासको दाल), ‘हाकुमुस्या’ (कालो भटमास) र ‘वा’ (धान) आदि राखेर छुट्टाछुट्टै मण्डप बनाइ सजाइन्छ ।म्ह पुजा गर्ने व्यक्तिले सगुनका रुपमा हाँसको अण्डा, सुकेको माछा र अयला ग्रहण गर्ने चलन छ ।

    म्ह पूजाका दिन नयाँ कुचो, एउटा नाङ्लो तथा पानीको घडालाई पनि देवताको प्रतीकका रूपमा सजाएर राखिन्छ ।नेपाल मण्डलको महायान बज्रयान परम्परामा ‘म्ह पूजा’ गर्दा सम्यक सम्बोधी मार्गमा मार्गस्थ हुन भवचक्रको (जन्म मरणबाट मुक्ति) ज्ञान प्राप्त हुने विश्वास छ ।

    बुद्ध, धर्म र सङ्घ मण्डललाई पूजा गरी शून्यताको ज्ञान प्राप्त गर्ने प्रक्रिया ‘म्ह पूजा’ हो । त्यस मण्डलसहित नाङ्गलो, पानीको घडा तथा नयाँ कुचोमा पनि बौद्ध चैत्यको प्रतिक ‘ग्वजा’सजाएर बज्रयान परम्परा अनुसार पुजा गरिन्छ । यसबाट व्यक्तिमा मैत्री, करुणा, मुदिता (अरुको प्रगतिमा खुशी हुने) र उपेक्षा भाव पैदा भई सम्यक सम्बोधी मार्गमा प्रशस्त हुने विश्वास छ ।

    एक विशिष्ट राष्ट्रिय पहिचानको रूपमा शदियौंदेखि चल्दैआएको ‘म्ह पूजा’ नेवार समुदायको मौलिक भाषा तथा लिपिपछि ‘म नेवार हूँ’ भनी चिनाउने एक मौलिक विशेषता हो । बज्रयान बौद्धधर्ममा ‘म्ह पूजा’ पूर्णतः वैज्ञानिक अवधारणाभित्र पर्दछ । बौद्ध दर्शनमा आत्मालाई शरीरको एक काल्पनिक अवस्था मात्र मानिन्छ ।

    अर्थात मानिसको शरीरभित्र आत्मा छैन् भन्ने मान्यता छ । यसकारण व्यक्तिले आफूभित्रको चित्त(मन)लाई नै परिशुध्द गर्नुपर्नेमा विशेष जोडदिइने ‘म्ह पूजा’को विशिष्ट महत्व छ । आजभोलि ‘म्ह पूजा’ नेवार समुदायको मात्र नभई समग्र नेपाली र विश्वकै साँस्कृतिक महत्व बोकेको सम्पदाको रूपमा विकास भइरहेको छ ।

    ब्यक्ति शरीर, वचन र चित्तको संयोजनबाट बनेको हुन्छ तथा ब्यक्तिको शरीर सबैभन्दा ठूलो पूजनीय हो भन्ने ‘म्ह पूजा’को सन्देश रहेको छ । बौद्धविद्धान यज्ञमानपति बज्राचार्यको “नेपाःया प्राचीन बज्राचार्य लीलाबज्र” नामक पुस्तकमा भगवती लक्ष्मीकरा (ई.७२९) ले मानव शरीरलाई विशेष महत्व दिनुभएको उल्लेख गरिएको छ ।

    लक्ष्मीकरा बज्रयान बौद्ध धर्ममा ८४ सिद्धा (सिद्धहस्त विद्घान) मध्ये एक हुनुहुन्छ । लक्ष्मीकरा गुरू पद्मसम्भवको फुपू हुनुहन्छ । लीलाबज्र उहाँको शिष्य हुनुहुन्छ । यसकारण लीलाबज्रको समयबाट ‘म्ह पूजा’को प्रारम्भ भएको हुनुपर्दछ ।

    दोस्रो तथ्य हो, पहिले काठमाडौंँ शहरको विकसित स्थान हालको विशालनगर हो । सो क्षेत्रमा ठूलो आगलागी हुँदा त्यहाँबाट बाँचेर आउन सफल हुनेहरूले ठूलो विपत्तिबाट ज्यान जोगाउन सफल भएको स्मरणस्वरूप आफ्नो शरीरको पूजा गरी सगुन लिने तथा ‘म्ह पूजा’ गर्ने परम्परा शुरू भएको जनविश्वास पनि छ ।

    महाचीनबाट आउनुभएका मञ्जुश्रीले तालको रूपमा रहेको काठमाडौँ उपत्यकालाई बस्तीयोग्य बनाएपछि सभ्यताको शुरुआत भएको तथा किराँत, लिच्छवी, मल्ल तथा आधुनिक कालसम्म आउँदा काठमाडौँ उपत्यकामा तन्त्र, मन्त्र तथा गुह्य दर्शनकासाथै मन्दिर, सत्तल, पाटी पौवा, भाषा, साहित्य, कला, जात्रा, चाड मोहनी, स्वन्ती, म्हपुजाजस्ता पर्वजस्ता मूर्तअमूर्त सम्पदाको विकास भएको तथा यी सम्पदा अमूल्य साँस्कृतिक धरोहरका रूपमा विश्वप्रसिद्ध छन् ।