× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रकविको सम्मानमा हुलाक टिकट प्रकाशन

    ३ वर्ष पहिले

    मंसिर-२२, सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३० प्रति मा टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित टिकट प्रचलनमा आएको हो । १०१ वर्षको उमेरमा घिमिरेको निधन २०७७ भदौ २ गते भएको थियो ।

    २०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रकाशन स्वीकृति दिने निर्णय गरेको थियो । घिमिरेको तस्वीरअंकित हुलाक टिकट डिजाइन हुलाक सेवा विभागकी कला अधिकृत पूर्णकला लिम्बूले गरेकी हुन् ।

    १० रुपैयाँ मूल्य राखिएको टिकटको आकार चौडाइ ३५ एमएम र लम्बाइ ४५ एमएम (ठाडो) छ । टिकटमा पाँचवटा रङ प्रयोग गरिएको छ । १० लाख प्रति छापिएको टिकट अफसेट लिसोग्राफी प्रकृयाबाट तयार गरिएको लिम्बूले जानकारी दिइन् ।

    विभागीय मन्त्री कार्कीले ३० वटा टिकटमा हस्ताक्षर गरी टाँचा लगाएका हुन् । त्यसरी टाँचा लगाइएको एकप्रति टिकट सम्झनास्वरूप घिमिरेका परिवारलाई पनि उपलब्ध गराइएको छ । घिमिरेकी छोरी डा. किरण रेग्मीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटलाई टाँचा प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिइन् ।

    फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोकबहादुर बस्यालले टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित हुलाक टिकट आजदेखि बिक्रीवितरण र प्रचलनमा ल्याइएको बताए । नयाँ टिकट तयार गरेपछि टाँचा लगाएरमात्र बिक्रीवितरण गर्न पाइन्छ ।