३ वर्ष पहिले
पुष-४,योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।
नेवार संस्कृतिमा योमरीको बिषेश महत्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुईवर्षमा दुईवटा, चारवर्षमा चारवटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ ।