× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज किरात समुदायको उधौली पर्व

    ३ वर्ष पहिले

    पुष-४,आज किराँत समुदायको उधौली पर्व धुमधामका साथ मनाईंदै छ । प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय-सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।

    जङ्गली तथा शिकारी युगबाट कृषि पेशामा आबद्ध भएदेखि सुरुभएको विश्वास गरिने उधौली पर्व यो वर्ष पनि मनाइँदै छ । खोटाङ जिल्लाबाट सुरु भएको यो पर्व देशका विभिन्न स्थानमा विशेषगरी किराँतहरुले र अहिले गैर किराँतहरुले समेत मनाउने गर्दछन् ।

    उधौली र उभौली मध्ये (मंसिरे धान्य पूणिर्मा)मा उधौली र -बैशाखे चण्डी पूणिर्मा)मा उभौली पर्व मनाउने गरिन्छ । किराँतहरु प्रकृतिपूजक सम्प्रदायहरु हुन् । किराँतीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भनेर मान्ने गर्छन् । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पनि हो । भोजपुर र खोटाङको सिमानामा पर्ने छोङ्खा साकेन्वा (चाडको समयमा पूजा गरिने देवस्थल)लाई सबैभन्दा पुरानो साकेन्वा थानको रुपमा मान्ने गरिन्छ । यो कुरालाई विभिन्न शिलालेखहरुमा पनि उल्लेख गरेको पाइन्छ ।

    यो पर्वको समयमा सबै जना एकै ठाउँमा भेला भएर साकेला सिली नाच नाच्ने गर्छन् । पूजा सकिएपछि सखेवालुङ अर्थात् धीःलाई पूजाथानमा नै गाडेर राख्ने गर्दछन् । यो प्रक्रिया दोहोरिरहन्छ । प्रत्येक पूजाको समयमा सखेवालुङलाई खनेर निकाली पूजा गर्ने चलन छ ।

    त्यसपछि १०-१५ दिनसम्म विभिन्न गाउँका गाउँलेहरु मिलेर ढोलझ्याम्टा बजाउँदै साकेला नाच नाच्दै रमाइलोसँग यो चाड मान्ने गर्दछन् । यसरी साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी (विशेषगरी महिलाहरु) सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला-पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच सहरबजारतिर पनि निकै लोकपि्रय बन्दै गएको देखिन्छ । यसलाई सहरतिर चण्डी नाच पनि भन्ने गरिएको छ । तर, चण्डी नाच भन्नु गलत भएको स्थानीय ज्ञाता र समुदायको भनाइ छ ।

    त्यस्तै, घरभित्र विधिपूर्वक कुबी (धामी)ले चुला पूजा गर्ने हुँदा अगेनाको छेउमा थान तयार गरिन्छ । पूजामा एउटा कलश, दुई कठुवा रक्सी, जोडी चिण्डोमा चोखो जाँड, काँसेथालमा केही अक्षता र जोडी दियो बालेर राखिन्छ । यसपछि कुबीले विधिपूर्वक आफ्नो मुन्धुमअनुसार पूजा सुरु गर्दछन् । कुबीको साथमा एक तायामी, जोडी मासुमी, जोडी ढोलेसमेत हुनुपर्दछ । मासुमीहरु झ्याम्टा बजाउँछन्, ढोलेहरु ढोल बजाउँछन् र तायामीले कुबीलाई पूजा गर्नमा सहयाग गर्दै कुबीले कतै गलत बाटो लिएमा सम्झाएर सही ठाउँमा ल्याउने गर्दछन् ।