× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आर्थिक सूचकहरु नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा

    ३ वर्ष पहिले

    पुष-२९, देशको अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।

    उच्च तरलता संकट, शोधनान्तरमा देखिएको उच्च घाटा र विदेशी मुद्राको सञ्चितिमा आएको गिरावटले अर्थतन्त्र गम्भीर अवस्थमा पुगेको देखिएको छ । चालू आर्थिक वर्षका पहिलो चार महिनामा देखिएका यी सूचकहरूले अर्थतन्त्रको अप्ठेरो अवस्था आकलन गर्न थालिएको हो ।

    देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । पछिल्लो मंसिर महिनामा विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि सात दशमलव ११ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा दुई दशमलव ९३ प्रतिशतमा सीमित थियो ।

    यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स छ दशमलव आठ प्रतिशतले घटेको छ । कार्तिकमा पनि रेमिट्यान्स सात दशमलव ७ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा ३०० अर्ब ६९ करोड पुगेको छ ।

    यस्तै गएको वर्षको यही अवधिमा देशको चालु खाता अर्ब एक करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब १ करोड रुपैयाँले नोक्सानीमा पुगेको छ ।

    अघिल्लो महिनासम्म शोधनान्तर १ सय ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । महिनादिनमा शोधनान्तर घाटा ४५ अर्ब बढेको छ । त्यस अघि त झन एकै महिना शोधनान्तर घाटा दोब्बर बढेको थियो ।

    पाँच महिनामा कुल वस्तु निर्यात १ सय ५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यात ५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई ८ सय ३८ अर्ब पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९ दशमलब ६ प्रतिशतले घटेको थियो । यसरी पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ प्रतिशतले वृद्धि भई ७ सय ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । अघिल्लो महिना ब्यापार घाटा ५६ दशमलब ८ प्रतिशतले बढेको थियो ।

    यस्तै २०७८ असार मसान्तसम्म रु १३९८ अर्ब ३ करोड विदेशी विनिमयको सञ्चिति १३ प्रतिशतले कमि आई २०७८ मंसिर मसान्तसम्म रू १२१४ अर्ब ३ करोडमा झरेको छ ।