× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ओरालो लाग्दै देशको अर्थतन्त्र, महंगी झन् बढ्यो

    ३ वर्ष पहिले

    माघ-२७, देशको अर्थतन्त्र क्रमश ओरालो लाग्दै गएको छ भने महंगी झन बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पछिल्लो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक निरन्तर ओरालो लाग्दै गएको देखिएको हो।

    देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । पुसमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ६५ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा तीन दशमलव ५६ प्रतिशतमा सीमित थियो ।

    पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ।

    २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

    देशमा मुद्रास्फीति बढ्नुका साथै अर्थतन्त्रका अन्य सुचकहरु निरन्तर ओरालो लाग्दै गएको छ।

    नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो।

    पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो।

    चालु आर्थिक वर्षको छ महिनामा रेमिट्यान्स ५.५ प्रतिशतले कमी आई रु. ४६८ अर्ब ४५ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ।

    यस्तै चालु खाता ३५४ अर्ब ६९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. ५१ अर्ब ६८ करोडले घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २ अर्ब ९७ करोडले घाटामा रहेको छ।

    यस्तै २०७८ असार मसान्तसम्म रु १३९९ अर्ब ३ करोड विदेशी विनिमयको सञ्चिति १६.७ प्रतिशतले कमि आई २०७८ मंसिर मसान्तसम्म रू ११६५ अर्ब ८९ करोडमा झरेको छ ।