× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार!

    ३ वर्ष पहिले

    फागुन-१५, संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लचक हुने भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् ।

    एमसीसी संसद्मा पेस भएसँगै सत्ता गठबन्धन नै संकटमा परेको भन्दै सत्ता गठबन्धन जोगाउने र एमसीसी पनि पारित गर्ने गृहकार्य तीव्र भएको छ । माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिनुभएको छ ।

    एमसीसी सम्झौता टेबल भएपछि मात्र तीनपटक प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै पुगेर भेटवार्ता गर्नुभएको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले निरन्तर रुपमा प्रतिपक्षसँग संवाद अगाडि बढाएसँगै एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउने निष्कर्षमा पुगेका हुन् ।

    सत्ता गठबन्धन जोगाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । पार्टीभित्र आन्तरिक गृहकार्य गरेर प्रचण्डले अन्ततः गठबन्धन जोगाउने नै निष्कर्षमा पुगेको बताइएको छ ।

    नेकपा माओवादीका नेता हरिबोल गजुरेलले एमसीसीको विषयमा आफ्नो पार्टीले राख्दै आएको संशोधनको विषयलाई समेत स्पष्ट पारेर एमसीसी पारित गर्नुपर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सत्ता गठबन्धनको लक्ष्य पूरा भएको छैन, आगामी निर्वाचनसम्म गठबन्धन निर्माण गरेका हौं, संशोधनको विषय समावेश गरेर एमसीसी पारित गर्नुपर्ने मत पार्टीभित्र निर्माण भएको छ ।’

    शान्ति प्रक्रियाको कतिपय काम अझै बाँकी रहेकाले सत्ता गठबन्धनलाई जोगाउने प्रयत्न भइरहेको बताउँदै गजुरेलले सकेसम्म गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताउनुभयो ।यसैबीच एमसीसी पारित गर्ने विषयमा निर्णय गर्नका लागि एकीकृत समाजवादी पार्टीले आइतबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्वलाई सहमत बनाउने दौडधुप शुरु भएको छ । शुरुमा व्याख्यात्मक घोषणासहित पारित गर्न कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव राख्नुभएको थियो । अहिले उक्त प्रस्तावअनुसार नै एमसीसी पारित गरेर गठबन्धन जोगाउने सहमति जुटेको छ ।

    नेकपा एकीकृत समाजवादीका नेतृ एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर अगाडि बढ्ने विषयमा मोटामोटी सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशको हितलाई केन्द्रमा राखेर एमसीसी सम्झौता अगाडि बढाउनुपर्नेमा साझा धारणा निर्माण हुने अवस्था रहेको छ ।’

    एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने विकल्पको खोजीमा जुटेका थिए । माओवादी र एकीकृत समाजवादीले राखेको अहिलेको अडानको विकल्पका रुपमा एमसीसीबारे प्रश्न उठेका विषयहरुमा व्याख्यात्मक घोषणा गर्ने गरेर पारित गर्ने विषयमा दुई दलबीच मोटामोटी सहमति जुटेको छ ।नेपाल समाचारपत्रबाट