× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उद्योग वाणिज्य संघ–चितवनको अधिवेशन: अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष सहित चार सदस्य निर्विरोध निर्वाचित

    ३ वर्ष पहिले

    फागुन-२५, उद्योग वाणिज्य संघ–चितवनको यही फागुन ३० गते हुने अधिवेशनको लागि अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष र चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा एक/एक जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचनको सबै प्रक्रिया टुंगो लागेपछि मात्रै उहाँहरुलाई औपचारिक घोषणा गरिने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै उद्योगतर्फको उपाध्यक्षमा पनि चिरिञ्जीवि सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ श्रेष्ठ प्यानलबाटै उम्मेद्वारी दिनुभएको थियो ।

    यस्तै वाणिज्यतर्फ उपाध्यक्षमा शंकर नेपाल र शिरिष पन्त, कर्पोरेटतर्फको उपाध्यक्षमा भोजराज कौडेल र राजेन्द्र ओलीको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सुवेदी र कौडाल श्रेष्ठ प्यानलबाट उम्मेद्वारी दिनुभएको हो । पन्त र ओली भने स्वतन्त्र रुपमा उम्मेद्वारी दिनुभएको हो । भोलि (बिहीबार) विहानसम्म उम्मेद्वारी फिर्ताको समय रहेको छ ।

    यस्तै सदस्यमा महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघतर्फ रेशमलाल आचार्य, कर्पोरेटतर्फ डा.जीवन कुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

    यसैगरि उद्योगतर्फ ६ जना सदस्यका लागि ७ जनाको उम्मेद्वारी परेको छ भने वस्तुगततर्फ ४ जनाको ७ जनाको उम्मेद्वारी परेको छ । सबैभन्दा धेरै वाणिज्यतर्फ ६ जनाको लागि १२ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय रहेको थियो । यस्तै बिहीबार दिउँसो १२ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय रहेको छ । दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै दिउँसो ३ बजे उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रम रहेको छ ।

    मतदान प्रक्रिया फागुन ३० गते विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने छ भने चैत १ गते मतगणना हुनेछ ।उद्योग वाणिज्य संघमा तीन हजार ४३७ जना सदस्य छन् ।