३ वर्ष पहिले
बैशाख-६, मध्यपुर युथ एसोसियनविरुद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरिवानासंगै खेलाडी र अफिसियल लाई प्रतिबन्ध सुनाएको छ ।
एन्फाअन्तर्गतको लिग कमिटीको सोमबार बसेको बैठकले बी डिभिजन क्लब नयाँ बस्तीलाई जरिवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध गरेको हो ।
क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ । यस्तै, क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ ।
२६ चैतमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए ।
चर्च ब्वाईज युनाइटेड र खुमलटार युवा क्लब शीर्ष डिभिजनमा उक्लिँदा नयाँ बस्तीले भने ११औँ स्थानमा रहेर बी डिभिजन लिग टुङ्गाएको थियो ।