× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मौन अवधिमा प्रचार सामग्री राख्ने, लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने

    २ वर्ष पहिले

    बैशाख-२९, भोलि वैशाख ३० गते हुने पालिका चुनावका लागि मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन । भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन ।

    फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् । यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

    आयोगले हिजो राति १२ बजेअघि नै स्पोन्सर गरिएका सामग्री निष्क्रिय बनाउन या हटाउन निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । ‘हामीले त्यस्ता सामग्री हटाउन भनेका छौँ । त्यस्ता सामग्रीमा लाइक, शेयर र कमेन्ट नगर्न भनेको छौँ, कसैले अटेरी गर्छ भने आयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सहितको टास्क फोर्स छ, त्यसले कारबाही गर्छ । त्यस्ता सामग्री राखिएका पेजहरू ब्लक हुन सक्छन्, त्यसैले कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालको प्रयोग नगरौँ, अर्यालले भन्नुभयो ।