× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अब वार्षिक १५ लाख कमाउनेलाई १२ लाख आम्दानीमा कर छुट

    २ वर्ष पहिले

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मध्यम वर्गलाई ठूलो राहत दिएको छ । वार्षिक आम्दानीमा लाग्ने कर छुटको सीमा परिवर्तन गर्दै सरकारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्नेले १२ लाख रुपैयाँमा कर छुट पाउने व्यवस्था गरिदिएको हो ।

    आगामी आर्थिक वर्षदेखि वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने दम्पत्तीले १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे हुन्छ । यस्तै, अविवाहित व्यक्तिले वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत सामजिक सुरक्षा कर तिर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटले गरिदिएको छ ।

    यसअघि दम्पत्तीको वार्षिक ४ लाख ५० हजार र अविवाहित व्यक्तिको वार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत सामाजिक सुरक्षा कर मात्रै लाग्ने व्यवस्था थियो ।

    नयाँ व्यवस्था अनुसार वार्षिक १५ लाख रुपैयाँ कमाउने दम्पत्तीले १२ लाख रुपैयाँमा आयकर छुट पाउने अवस्था सिर्जना भएको छ । तर, यसको लागि विभिन्न शर्तहरु भने पूरा भएको हुनुपर्छ ।

    सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयक मार्फत दम्पत्तीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था गरिदिएको छ । यो व्यवस्था अनुसार ६ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्दा हुने भयो ।

    आर्थिक विधेयकमा अर्काे पनि व्यवस्था छ । स्वीकृत अवकाश कोषमा जम्मा गरेको ३ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर छुट हुन्छ । स्वीकृत अवकाश कोष भनेको कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता नेपाल सरकारबाट स्वीकृति लिएर संचालनमा रहेका कोषहरु हुन् । कुनै दम्पत्तिले जागिर गरेर कमाउने रकममध्ये वार्षिक ३ लाख रुपैयाँसम्म नागरिक लगानी कोष वा कर्मचारी संचय कोषमा अथवा कुनै एक कोषमा मात्रै जम्मा गरेको रहेछ भने त्यो ३ लाख रुपैयाँमा आयकर छुट हुन्छ ।

    यसरी दम्पत्तीले पहिलो ३ लाख रुपैयाँ पुरै कर छुट र त्यसपछि ६ लाख रुपैयाँमा १ प्रतिशत मात्रै कर तिर्दा हुन्छ । यसो गर्दा नै सो दम्पत्तीले ९ लाख रुपैयाँसम्मको आम्दानीमा लाग्ने कर जम्मा ६ हजार रुपैयाँ मात्रै (३ लाखको कर छुट र बाँकी ६ लाखको १ प्रतिशत मात्रै) कर तिरे हुन्छ ।

    तर, सामाजिक सुरक्षा कोषमा आवद्धले भने वार्षिक ५ लाख रुपैयाँसम्ममा कर छुट पाउँछन् । यो भनेको कर्मचारी संचय कोष वा नागरिक लगानी कोषबाट पाउने सुविधाभन्दा वार्षिक २ लाख रुपैयाँ बढी हो ।

    नयाँ व्यवस्था अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएको विवाहित व्यक्तिले वार्षिक ५ लाख रुपैयाँसम्मका कर छुट पाउँछ । त्यसपछिको ६ लाख रुपैयाँमा १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे हुन्छ । अर्थात सामाजिक सुरक्षा कोषमा आवद्ध भएको र विवाहित व्यक्तिले वार्षिक ११ लाख रुपैयाँसम्मको आम्दानीमा जम्मा ६ हजार रुपैयाँ कर तिरे पुग्छ । तर, त्यस्तो परिवारले वार्षिक ५ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरेको भने हुनुपर्छ ।

    सामाजिक सुरक्षा कोषमा आवद्ध भएको योगदानकर्ताले आफ्नो तलबको एक तिहाई वा वार्षिक ५ लाख रुपैयाँसम्म जुन घटी हुन्छ, सो बराबरको रकममा आयकर छुट पाउने व्यवस्था छ ।

    आन्तरिक राजस्व विभागका निर्देशक राजुप्रसाद प्याकुरेल आयकर गणनाको लागि कानुनले विभिन्न प्रकारका छुट सुविधा दिएको बताउँछन् ।

    ‘सामाजिक सुरक्षा कोषमा वार्षिक ५ लाख तथा अन्य स्वीकृत अवकास कोषमा वार्षिक ३ लाख रुपैयाँ घटाउन पाइन्छ, यस्तै, दुर्गम भत्ता,लगानी बीमा, स्वास्थ्य बीमा, निजी भवन बीमा जस्ता खर्च पनि कटाउन पाइन्छ,’ सुचना अधिकारी समेत रहेका निर्देशक प्याकुरेलले भने ।

    सरकारले वार्षिक ५० हजार रुपैयाँसम्मको दुर्गम भत्तालाई आम्दानीबाट घटाउन पाउने सुविधा दिएको छ । यस्तै, जीवन बीमा गर्न तिरिएको ४० हजार रुपैयाँसम्मको बीमा प्रिमियम, २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा र आफ्नै नाममा भएको निजी भवनको बीमा गर्दा तिरिएको ५ हजार रुपैयाँसम्मको भवन बीमा प्रिमियम पनि आम्दानीबाट घटाउन पाइन्छ । यस्तो सुविधाको कुल रकम १ लाख १५ हजार रुपैयाँ हुन आउँछ । यस्तो सुविधा लिनको लागि दुर्गममा काम गरेको, जीवन बीमा, स्वास्थ्य बीमा र आफ्नै नाउमा भवन भएको र त्यसको पनि बीमा गरेको व्यक्ति भने हुनुपर्ने हुन्छ ।

    यस्ता सबै सुविधा पनि प्रयोग गर्दा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको विवाहित योगदानकर्ताले कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्म कर छुट, त्यसपछि दुर्गमभत्ता वापतको ५० हजार, जीवन बीमाको ४० हजार, स्वास्थ्य बीमाको २० हजार र निजी भवनको ५ हजार गरी ६ लाख १५ हजार रुपैयाँ आम्दानी घटाएर आयकर गणना गर्न पाउँछ ।

    त्यसपछि विवाहित व्यक्तिले ६ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत कर तिरे हुन्छ । अर्थात, वार्षिक १२ लाख १५ हजार रुपैयाँसम्मको आम्दानीमा जम्मा ६ हजार कर तिरे पुग्छ । कुल १५ लाख रुपैयाँ आम्दानी भएको अवस्थाको विश्लेषण गर्दा थप २ लाख ८५ हजार रुपैयाँको कति कर तिर्ने भन्ने मात्रै हिसाव गरे हुन्छ ।

    दम्पत्तीले त्यसपछिको २ लाख रुपैयाँमा १० प्रतिशत अर्थात २० हजार रुपैयाँ आयकर तिर्नुपर्छ । माथि उल्लेख गरिए जसरी १२ लाख १५ हजार रुपैयाँमा वार्षिक ६ हजार रुपैयाँ मात्रै कर तिरेकोले थप २ लाखको २० हजार गर्दा १४ लाख १५ हजारको २६ हजार रुपैयाँ मात्रै आयकर तिर्नुपर्छ । बाँकी रहेको ८५ हजार रुपैयाँमा भने २० प्रतिशतका दरले हुने १७ हजार रुपैयाँ कर तिर्नुपर्छ ।

    अर्थात, सामाजिक सुरक्षा कोषमा आवद्ध भएको, विवाहित व्यक्ति, ४० हजार रुपैयाँ प्रिमियम तिर्ने गरी जीवन बीमा गरेको, दुर्गममा रहेर कम्तिमा ५० हजार रुपैयाँ दुर्गम भत्ता लिएको, २० हजार रुपैयाँ स्वास्थ्य बीमा प्रिमियम तिरेको र आफ्नै नाममा भएको भवन बीमा गरेर बीमा शुल्क ५ हजार रुपैयाँ तिरेको छ भने त्यस्तो व्यक्तिले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरेपनि जम्मा ४३ हजार रुपैयाँ आयकर तिरे हुन्छ ।

    यसरी हिसाव गर्दा सबैभन्दा बढी लाभ लिने भनेको वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने दम्पत्ती हुन् । त्यसैले यही अंकबाट हिसाव गरिएको हो ।