२ वर्ष पहिले
असार-६, नेपाली मूलका अमेरिका कलाकार जसवन्त देव श्रेष्ठले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् । उनले सरस्वती पूजा नामको सांस्कृतिक बृत्तचित्रबाट एमी अवार्ड जित्न सफल भएका हुन् ।
अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परेका थिए । तर यसपटक भने अवार्ड जित्नमा सफलता मिलेको हो । अवार्ड जितेपछि श्रेष्ठले नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवकको कुरा भएको बताए ।
यसपटक उनका ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका थिए । क्यालिफोर्नियाको पाल्म स्प्रींगमा आयोजित ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका तीनवटा बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए ।
फेस्टिभल्स श्रृंखलाबाट दशैं पर्व, सरस्वती पूजा पर्व र महा शिवरात्री पर्व नामका उनका बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए । फेस्टिभल्स श्रेष्ठबाट निर्मित ५ भागको बृत्तचित्र श्रृङ्खला हो जसले दैवी प्रेरित रहस्यमय संस्कृति र नेपाली जनताको विविधताको अनुभवका साथमा नेपालको मिथक, किंवदन्ती र पुरातन परम्पराहरूलाई उजागर गरेको छ ।
फेस्टिभल शृङ्खलामा प्रेमपूर्ण परिश्रम रहेको र यसलाई बनाउन तीन वर्ष लागेको श्रेष्ठको भनाई छ । दर्शकहरु बृत्तचित्रको माध्यमबाट भर्चुअल रुपमा नेपालको यात्रामा जानसक्ने र नेपालको समृद्ध संस्कृतिको बारेमा केही भएपनि जान्न सक्ने श्रेष्ठले बताए ।
यो बृत्तचित्र हेरेपछि उनीहरुले नेपाललाई भ्रमणका लागि गन्तव्य बनाउने निर्णय गर्न सक्ने र त्यसले गर्दा नेपालको पर्यटन उद्योगलाई निस्सन्देह मद्दत गर्ने श्रेष्ठको विश्वास रहेको छ ।
श्रेष्ठको यो बृत्तचित्र विश्वचर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो । अमेरिकाको लस एन्जलसमा रहेको क्रियटिभ हाइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो बृत्तचित्र १७ वटा एसियाली मुलुकमा प्रशारण गरिएको थियो । यही कम्पनीको ब्यानरमा निर्मित सामाग्रीहरुले विभिन्न अवार्डहरु जित्न सफल भएका छन् ।