× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख ३५ हजार

    २ वर्ष पहिले

    असार-१०, चितवनको ईच्छाकामना गाउँपालिकाको ११ औँ गाउँ सभा शुक्रवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    गाउँपालिका प्रवक्ता नरबहादुर नेपालले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षको लागि अन्तरिक स्रोततर्फ २ करोड ९७ लाख ४० हजार रुपैयाँ, राजश्व बाँडफाँड ११ करोड ९५ लाख २९ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ३८ करोड रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ५ करोड ४८ लाख ६६ हजार रुपैयाँबाट उक्त बजेट विनियोजन गरिएको जनाएको छ ।

    विनियोजित वजेट मध्ये अघिल्लो आर्थिक वर्षको भुक्तानी वापतको ५ करोड, आर्थिक विकासतर्फ १ करोड २८ लाख ५०, शिक्षातर्फ १ करोड ७ लाख ५९ हजार, सामाजिक विकासतर्फ ३ करोड ७६ लाख ५० हजार, पूर्वाधारतर्फ ८ करोड ८४ लाख, स्थानिय सडक पुल तथा झोलुङ्गे पुलतर्फ ५ करोड ३६ लाख ५० हजार , युवा खेलकुद तथा मनोरञ्जन तर्फ ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    आगामी आर्थिक वर्षका चालु खर्चतर्फ १० करोड ९९ लाख रुपैयाँ र पुँजीगत तर्फ २५ करोड १७ लाख ९३ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ३१ करोड २७ लाख ९२ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

    यसैगरी सो गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवालले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकासलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

    नीति तथा कार्यक्रममा कृषि करको दर घटाउने, इच्छाकामना गाउँपालिकालाई मासु, अण्डा तथा दूधमा आत्मनिर्भर बनाउनुका साथै बंगुर पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरी मासुको पूर्ति तथा निर्यात गर्ने योजना बनाएको छ।

    यस्तै, १ घर १० फलफूल बोट कार्यक्रम सञ्चालनका लागि विरुवा अनुदानमा उपलब्ध गराउने, सीमान्तकृत गरिब चेपाङहरुलाई बिऊ,विजन तथा पशु माउ वितरण गरिने जनाएको छ।

    यसैगरी गाउँपालिका स्तरीय पर्यटन विकास बोर्डको गठन गर्ने, त्रिशूली नदीमा त्रिशुली र्याफ्टिङ महोत्सव सञ्चालन गर्ने, गाउँपालिकाको पर्यटकीय क्षेत्र सिराइचुली, इच्छाकामना मन्दिर,उपरदाङगडी, सिंहदेवी पाथीभरा, गौरी खोला झरना, मुग्लिन महादेवथान, त्रिवेणी भगवति(गोरखा) क्षेत्रमा पर्यटक बृद्धि गर्नको लागि पहुँचमार्ग स्तरोन्नती गरी पर्यटन प्रवर्द्धनमा जोड दिने जनाएको छ।

    यस्तै, गाउँपालिका भित्रको आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लागु गर्ने र सम्पुर्ण स्कुललाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने,स्थानीय मातृभाषा को पाठ्यपुस्तक तयार गरी विद्यालयमा पठनपाठनको व्यवस्था गरिने जनाएको छ।

    यसैगरी खेलकुद कार्यक्रमको संचालन तथा व्यवस्थापनको लागि खेलकुद विकास समिति गठन गरिने, अध्यक्ष कप फुटबल सञ्चालन गरिने, किशोर किशोरीहरूको लागि आत्मरक्षाको तालिम दिने जनाएको छ।