२ वर्ष पहिले
साउन-१४, चितवनमा अफ्रिकन स्वाइन फिभरका कारण बंगुर भकाभक मर्न थालेको छ।
इच्छाकामना–७, पिपलटारका गोपी मल्लिकले व्यावसायिक बंगुरपालन गर्न थालेको दुई दशक हुनै लाग्यो । करिब ४०० वटासम्म बंगुर पालेका उनलाई यसपटक भने ठूलो दशा लाग्यो । केही महिनाअघिमात्रै नेपाल भित्रिएको नयाँ खालको भाइरस ‘अफ्रिकन स्वाइन फिभर’का कारण फार्ममा भएका सबै बंगुर मर्दै गए ।
गत असारको ४ गतेदेखि मर्न सुरू गरेको बंगुर अहिलेसम्म पनि मरिरहेको उनले बताए । ‘फार्ममा अब जम्मा एक सयजति होलान्, ती पनि मर्छन्’, उनले भने, ‘यो सङ्क्रणले लगानी सबै डुबाउने भयो ।’ यसपटक बंगुर मर्नाले करिब ३० लाखको हाराहारीमा नोक्सान भइसकेको उनले बताए ।
हुन त, उनको फार्मको नमुना परीक्षण भएको छैन, तर लक्षणलाई आधार मान्दा उनी आफैँ अफ्रिकन स्वाइन फिभरकै कारण फार्ममा बंगुर मर्न थालेको दाबी गर्छन् । ‘मेरोमा भन्दा पहिला वरिपरिका खोरमा मर्न थालेको थियो’, बिहीबार भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा भेटिएका उनी भन्छन्, ‘नजिकै सानो पानी बग्ने खोल्सो भएकोले त्यही खोल्सोको पानीको माध्यमबाट सरेको मेरो अनुमान छ ।’ छिमेकी फार्महरुमा केही नियन्त्रण भइसके पनि आफ्नो खोरमा भने नियन्त्रण नभएको उनले बताए ।
बंगुर सबै मासिने भएपछि विकल्पको रुपमा भैँसी पाल्ने सोच बनाएको उनले बताए । ‘तत्काल दुईवटा भैँसी लैजाने सोच बनाएको छु’, उनले भने, ‘गरिरहेको पेसाबाट एकपटक घाटा सहनु पर्दैमा हरेस खाने कुरा त आउँदैन नि !’
भरतपुर–६, देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा पनि साउनको २–३ गतेदेखि समस्या देखिन थालेको थियो । माउ र बच्चा गरी करिब एक हजार २०० बंगुर रहेको फार्ममा अफ्रिकन स्वाइन फिभरकै कारण दुईवटा खोर रित्तिइसकेको छ । गएको १० दिनको वरिपरिमा करिब ५०० बंगुर मरिसकेका छन् । उक्त फार्ममा मरिसकेको बंगुरको हिसाब राख्ने हो भने एक करोड २० लाखभन्दा बढी क्षति भइसकेको केन्द्रका सञ्चालक नरेन्द्रकुमार कन्दङ्वाले जानकारी दिए ।
उनका अनुसार चितवनमा असारमै देखिइसकेको समस्या फार्म सञ्चालकहरुले सङ्क्रमणबारे जानकारी लुकाएर राख्दा अन्य फार्ममा पनि फैलिँदै गएको हो । ‘इन्द्रपुरीवरिपरिको क्षेत्रमा पनि थुप्रै बंगुर मरेको थाहा पाइयो’, उनले भने, ‘तर हामी सचेत हुँदाहुँदै पनि जिल्लामा यो सङ्क्रमण भित्रिएको कसैले जानकारी नगराइदिँदा थप नोक्सान व्यहोर्न प¥यो ।’
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि जिल्लाभरिमा करिब दुई हजार ५०० देखि तीन हजारको हाराहारीमा बंगुर मरिसकेको अनुमान लगाएको छ । ‘किसानबाट प्राप्त जानकारीअनुसार एक हजारभन्दा बढी मरेको खबर पाएका छौँ’, विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले भने, ‘आधिकारिक तथ्याङ्क नआए पनि दुई हजार ५०० देखि तीन हजारको हाराहारीमा बंगुर मरेको हाम्रो अनुमान छ ।’
किसानले सीधै जानकारी नगराए पनि धेरै फार्ममा बंगुर मरेको खबर पाइसकेको उनले बताए । हालसम्म दुईवटा ठूला फार्मका सञ्चालकहरुले मात्रै जानकारी गराएकोले सबैको तथ्याङ्क आउन नसकेको उनले बताए । ‘कतिले आफ्नै तरिकाले आठ–दसवटा बंगुर पालेका छन्, उनीहरुको पनि बंगुर मरेका कुरा बाहिरबाट आएका छन्’, उनले भने ।
नयाँ खालको सङ्क्रमण भएकोले सरकारले पनि क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको हुँदा किसानले शतप्रतिशत नोक्सानी व्यहोर्न बाध्य भएको उनले बताए । ‘विकसित मुलुकको अवस्था हेर्ने हो भने सङ्क्रमण देखिइसकेको फार्ममा भएका सबै बंगुर नष्ट गर्ने र सरकारले क्षतिपूर्ति दिने भन्ने हुन्छ । तर, नेपालमा त्यस्तो अभ्यास भइसकेको छैन’, उनले भने, ‘त्यसैले अहिले सङ्क्रमण देखियो भन्दैमा जिउँदै भएका बङ्गुर मार्न पनि सकिँदैन ।’
बंगुर मर्नुमा एक खालको क्षति त छँदैछ, त्योभन्दा पनि समस्या मरिसकेपछिको व्यवस्थापनमा भएको पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका सञ्चालक कन्दङ्वाले बताए । वर्षात्को समय भएकोले खाल्डो खन्दा पनि पानी निस्कने र जमिनमा खेतीपाती भएको हुँदा मरेका बंगुर व्यवस्थापन गर्ने ठाउँ नभएको उनले बताए ।
पशु विज्ञ केन्द्रले भने जैविक सुरक्षाबाहेकका उपाय नहुने हुँदा सङ्क्रमण नभएका फार्महरुमा पनि जैविक सुरक्षा अपनाउन अनुरोध गरेको छ । साथै एउटा फार्मबाट अर्को फार्ममा आवतजावत नगर्ने, होटलहरुबाट जुठा खाना बोक्न बन्द गर्ने आदि विषयमा सचेत गराउँदै आएको छ । चितवन पोष्टबाट