× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको निधन

    २ वर्ष पहिले

    भदौ -५, नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरि यस्तो नाम हो जसमा विपक्षीहरुले समेत श्रद्धाले शिर निहुराउँछन् । अहम् र तिक्ततापूर्ण राजनीति रहेको नेपालमा गिरिको नाममा जोकोहीले पनि सम्मान प्रकट गर्ने गर्छन् । नेपाली कांग्रेसभित्रका कम्युनिस्ट चरित्रको नेताका रुपमा पनि चिनिने गिरिलाई सोच र व्यवहारमा समाजवादी नेता मानिन्छ ।

    उहाँको हिजो शनिवार राति उपचारको क्रममा निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो हप्ता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको थियो । पछिल्ला दिनहरुमा निमोनिया फैलिँदै गएर शरीरका अङ्गहरुले काम गर्न छाड्दै गएको थियो ।

    नेपाली कांग्रेसको प्रमुख सिद्धान्त मानिने प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र यस विचारधारालाई अगाडि बढाउने काम वीपीपछि कसैले गरेको छ भने त्यसको एकमात्र श्रेय प्रदीप गिरिलाई जान्छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाड्दै गएकोमा उहाँ पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो । तर, पार्टीभित्र पनि प्रतिपक्षीको भूमिका निभाएर पार्टीमा हुने गरेका विकृति, विसङ्गतिका बारेमा उहाँले सधैँ आवाज उठाइरहनुभयो ।

    २००४ सालमा सिरहामा जन्मिनु भएका गिरिले जवाहरलाल नेहरु विश्वविद्यालय, काशी हिन्दु विश्वविद्यालयमा अध्ययन गर्नुभयो । उहाँ स्वयम् खुला विश्वविद्यालय हुनुहुन्थ्यो । कुनै पनि विषयमा लगातार बौद्धिक तर्क, छलफल र चिन्तन गरेर नथाक्ने गिरि आफैँमा इन्साक्लोपेडिया हुनुहुन्थ्यो ।

    सिरहामा उहाँको निवास अर्थात आश्रममा पुस्तकालय, सामुदायिक रेडियो, दलित बालबालिकाहरुको लागि पढ्ने व्यवस्था, कम्प्युटर कक्षा आदिको लागि तालिमसमेतको व्यवस्था छ । हरियालीलाई विचार गरेर रुखहरु पनि रोपिएका छन् ।

    २०१७ सालदेखि राजनीतिमा सक्रिय गिरिले राजनीतिक सङ्घर्षको दौरान २०२५ सालमा १८ महिना तथा २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताउनु भएको थियो । नागरिक हक अधिकारका लागि सधैँ सक्रिय गिरि महिला, जनजाति, दलितको मुद्दामासमेत खरो रुपमा प्रस्तुत हुनुहुन्थ्यो । गिरिले मधेसी नागरिकको उपेक्षा भएको ठानेर संविधानमा हस्ताक्षर गर्नु भएको थिएन ।