× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेवा समुदायले मनाउने चथा: चख: -श्रीन्या श्रेष्ठ

    २ वर्ष पहिले

    भदौ -१५, हरेक वर्ष नेपाल संवत् अनुसार यँलाथ्व चतुर्थी तथा विक्रम संवत् अनुसार भाद्र शुक्ल चतुर्थीको दिन नेवा: समुदायले ” चथा: चख:” मनाउने गर्दछ। यस तिथीलाई श्री गणेशको जन्मदिनको रुपमा पनि चिनिन्छ। नेवा: समुदायमा चाडपर्वलाई नख: र चख: गरि दुई किसिमले विभाजन गरिएको पाइन्छ। साधारण बुझाइमा नख: भनेको ठूलो चाड हो र यस्तो चाडहरुमा बिहे गरेर गइसकेका चेलीबेटी तथा आफन्तहरुलाई निम्तो दिई घरमा जमघट जसरी `नखत्या´ भनी भोज मनाइन्छ। यसै गरि चख: भनेको सानो चाड हो र यस्तो चाडमा चेलीबेटी तथा आफन्तलाई निम्तो दिन पर्दैन, यसमा घरको परिवार सदस्यहरुसँगै बसेर मिलेर मनाउने गरिन्छ।

    नेवा: समुदायमा चथा: को नामले चिनिने यस पर्वलाई सक्दो राम्ररी मनाउने गरिन्छ। जनश्रुतिका अनुसार यस पर्वलाई जसरी मनाइयो, दशैं पनि त्यस्तै हुने मान्यता छ। यस दिन पानी पर्यो भने दशैं बेला पनि पानी पर्ने जनविश्वास रहेको छ।यस दिन विशेष गरि हलिमली खाने गरिन्छ। भुटेको मकै, भटमास, फर्सिको बियाँ, आरुको बियाँभित्रको गेडा आदि सबै मिसाएर खाने गरिन्छ , यसैलाई हलिमली भनिन्छ। यस दिन नेवा: समुदायमा चन्द्रमा हेर्न नहुने मान्यता रहि आएको छ।

    एक प्रचलित किंवदन्ती अनुसार यसै रात स्वर्गका राजा इन्द्र काठमाडौमा आफ्नो आमाको व्रतको लागि पारिजात फूल चोर्नलाई आएको मानिन्छ। यसरी रातमा चोर जसरी आएकोले यस दिन इन्द्रलाई `खुँ द्य´ अर्थात चोर देवताको नामले पुजिन्छ।स्वर्गका राजाले नै यसरी चोर्न आएपनी चन्द्रमा साक्षी मात्र बनी चुपचाप बसिरहे। यसरी आएर चोरी गर्दै गर्दा त्यहाँको मालीले देखेपछी मानिसको भेषमा आएका इन्द्रलाई बाँधेर चपाउन साह्रो हुने भुटेको भटमास, बकुला, फूल नउठ्ने मकै आदि खुवाएको कथन छ। सोही कथा अनुसार अहिले पनि चन्द्रमा उदाएपछि कौसीमा चन्द्रमालाई नहेरी पुजा गरिन्छ भने खुँ द्य:को लागि भाग भनेर टपरी वा पातमा भुटेको भटमास, बकुला, मकै आद भाग हाल्ने गरिन्छ। त्यसपछी रातमा कुकुरहरु भुक्न थालेपछि र स्यालहरु कराउन थाले पछि खुँ द्य: आए भनेर घरका खापा र झ्याल सबै बन्द गर्ने चलन पनि रहेको छ। आजकै रात इन्द्रले फूल चोरी फलफूल चोरेर खाँदा चन्द्रमा साक्षी बसे पनि मौन रहेको कारण यस दिन फलफूल चोरे पाप नलाग्ने विश्वास गरिन्छ र रातको समयमा फलफूल चोर्न जाने रोचक परम्परा छ। चोर्दा खेरि साक्षी बसेका चन्द्रमा मौन बसि इन्द्रलाइ सहयोग गरी बचाएकोले नेवा: समुदायमा यस दिन चन्द्रमालाई रीसले उल्टो पुजा गरि साह्रो खानेकुरा चढाई नहेर्ने परम्परा छ।

    अर्को कथा अनुसार अरुको उर्जाबाट उर्जा प्राप्त गर्ने चन्द्रमाले यसै दिन गणेशलाई मुसामा चढ्ने, हात्तीको टाउको भएको आदि भनि खिसी उडाएको हुनाले रीसमा चन्द्रमालाई उर्जा हराउने र तेज क्षीण भइ जसले चन्द्रमा हेर्छ उसलाई चोर दोषको मिथ्या लाग्ने श्राप दिएको कथन छ, त्यसैले चन्द्रमा हेर्न नहुने मान्यता छ। यस दिन नेवा: समुदायले सिंहमा बसेका गणेशको पुजा गर्ने चलन छ। वर्षभरी घरमा सुख-शान्ती रहोस, अन्नको कमि नहोस् तथा ग्रहदशाले दु:ख नदियोस् भनी पुज्ने चलन रहेको छ।