× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल गजल प्रतिष्ठानद्वारा “साङ्गीतिक गजल मुशायरा एवं स्रष्टा सम्मान” सम्पन्न

    २ वर्ष पहिले

    भदौ-१९, नेपाल गजल प्रतिष्ठानले आदि गजलकार मोतीराम भट्टको १५७ औं जन्म जयन्ती एवम् प्रतिष्ठानको स्थापनाको वर्षको अवसर पारेर शुक्रवार राष्ट्रिय नाचघर जमल, काठमाडौमा “साङ्गीतिक गजल मुशायरा एवं स्रष्टासम्मान“ कार्यक्रम सम्पन्न गरेको छ ।

    श्री कृष्ण गुरुकुल सङ्गीत पाठशाला, जनता टेलिभिजन र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा नेपाल गजल प्रतिष्ठानद्वारा आयोजना गरिएको प्रतिष्ठानका कानुनी सल्लाहकार आँचल कुमार शर्माले जानकारी दिए ।

    वरिष्ठ चिकित्सक एवम् गजलकार डा. कृष्ण जङ्ग राणा एवम् वरिष्ठ गीत/गजल गायक एवम् सङ्गीतकार श्री शक्ति बल्लभलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठ (रायन)को हातबाट क्रमशः बहर बाटिका गजल सम्मान र बहर बहार सङ्गीत सम्मान प्रदान गरिने कार्यक्रम भए पनि अस्वस्थताका कारण अनुपस्थित रहनुभएका बयानब्बे वर्षिय वरिष्ठ गजलकार एवं चिकित्सक कृष्ण जंग राणालाई घरमै पुगी दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो । वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञावलीले सम्मानित व्यक्तित्वहरूले पुऱ्याएको योगदानको चर्चा गरेका थिए भने संस्थाका सचिब अन्जान यात्रीले सम्मानपत्रको व्यहोरा वाचन गरेर सुनाएका थिए ।

    श्री कृष्ण गुरुकुल सङ्गीत पाठशालाका तिलक सिंह पेलाको सङ्गीत निर्देशन रहेको कार्यक्रममा गजलकार लालकाजी श्रेष्ठको “स्वयं आधीको दुनियाँ” बोलको गजलमा कमल विष्टको संगीत एवं जलजला परियारको संगीत रहेको थियो । गजलकार डा. प्रदीप कुमार मैनालीको “के लत बस्यो मलाई” बोलको गजलमा तिलक सिंह पेलाको संगीत रहेको थियो । संस्थापक अध्यक्ष गजलकार प्रमोद थापाको “मुहार तिम्रो बेदाग जून हो” बोलको गजलमा आवाज शर्माको संगीत र गायन रहेको थियो । गजलकार अन्जान यात्रीको “झरिमा ओढिएको ओढनी” बोलको गजलमा तिलक सिंह पेला एवं आवाज शर्माको संगीत, खेम थापाको गायन रहेको थियो । गजलकार भुवन निस्तेजको “पुरानो भैसक्यो चलन चिठ्ठीहरूको” बोलको गजलमा कमल विष्टको संगीत र गायन रहेको थियो । संस्थाका संरक्षक टक गुरुङको “नबोली चुरा छिनछिन” बोलको गजलमा लालकाजी श्रेष्ठको संगीत र गायन रहेको थियो । संस्थाका सल्लाहकार, गजलकार आवाज शर्माको “जिउने बहाना हजार छन् ” बोलको गजलमा संगीत आवाज शर्माको, गायन प्रतीक्षा देवकोटाको रहेको थियो । गजलकार डा . भोजराज घिमिरेको “तिम्रो नयनको क्षितिजमा” बोलको गजलमा कमल विष्टको संगीत र गायन रहेको थियो ।

    वाद्यवादन तर्फ इशराजमा संतोषभक्त श्रेष्ठ, तबलामा जगन्नाथ धौगोडा, गितारमा शैलेस मानव, हार्मोनियममा कमल विष्ट रहेका थिए ।

    आम नेपाली टिभी एच डीले कार्यक्रमको लाइभ प्रशारण गरेको थियो भने केही दिनमा जनता टेलिभिजन मार्फत पनि उक्त कार्यक्रम प्रशारण हुने आयोजकले जनाएको छ ।

    प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन) ले गजलको उन्नयनको लागि निरन्तर लागिरहनु पर्ने कुरा बताएका थिए । समापनको क्रममा बोल्दै सभाध्यक्षले गजल केवल गजल मात्र हो र गजलको संरक्षण सम्बर्द्धन एवं प्रबर्द्धनका लागि नेपाल गजल प्रतिष्ठानको अभियान निरन्तर जारी रहने कुरा बताएका थिए ।

    कार्यक्रमलाई एन आइ सि एसिया बैंक, सनराइज बैंक, एभरेस्ट बैंक, सुर्य लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र बुद्ध एयरले प्रायोजन गरेको थियो ।

    प्रदिप मैनाली “स्वनाहम”को परिकल्पना एवं संयोजकत्व रहेको उक्त कार्यक्रम नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा सम्मान कार्यक्रम खण्डको सहजीकरण भुवन निस्तेजले गरेका थिए भने सांगीतिक गजल मुशायरा खण्डको सहजिकरण प्राज्ञ कवि एवं गजलकार धिरेन्द्र प्रेमर्षीले गरेका थिए ।

    नेपाल गजल प्रतिष्ठानका वरिष्ठ सल्लाहकार आवाज शर्माले नेपाल गजल प्रतिष्ठान र कार्यक्रमका बारेमा प्रष्ट पार्दै पोखरामा २०७८ चैत्रमा बिधिवत दर्ता भएको यस संस्थाले स्थापनाको ५ महिनामा नै यति ठुलो र भव्य कार्यक्रम गर्न सफल भएकोमा सहयोगी संघ संस्था र सरोकारवाला सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।