× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनी वाङ्मय परिषद् द्वारा आयोजित ‘स्रष्टा सम्मान’ तथा ‘आँदिमुल शरदकालीन काव्योत्सव’ सम्पन्न

    २ वर्ष पहिले

    भदौ-२६, आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते दुई दिन ‘स्रष्टा सम्मान’ तथा ‘आँदिमुल शरदकालीन काव्योत्सव’ कार्यक्रम सम्पन्न भएको छ ।

    आँबुखैरेनी गाउँपालिकाको समन्वयमा गरिएको कार्यक्रमको पहिलो दिन आँबुखैरेनी बजारमा कवि खुमनारायण पौडेल सम्मानित भएका छन् । समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको हो ।

    परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।

    त्यसैगरी दोस्रो दिन सत्रसय फाँटदेखी १५ मिनेटको सवारी यात्रामा पुगिने प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा मुलुकका विभिन्न ठाउँबाट आएका स्रस्टालाई लगेर ‘आँदिमुल शरदकालीन काव्योत्सव’ कार्यक्रम गरेको हो ।

    कार्यक्रममा कविता वाचन सँगै स्थानीय सांस्कृतिक नाच देखाइएको थियो । चितवनबाट आएका स्रस्टाहरू खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी र मोदनाथ मरहट्ठाले पनि रचना प्रस्तुत गरेका थिए ।

    दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले आफ्नो पालिकामा मुलुकका विभिन्न जिल्लाका स्रस्टाहरू ल्याएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । यो किसिमका कार्यक्रम आयोजना गरिँदा स्थानीय तहका प्रसिद्ध स्थानहरूको प्रचारप्रसार भै पर्यटनको विकासमा सहयोग पुग्ने प्रमुखले बताए ।

    परिषद्का समेत अध्यक्ष रहेका कार्यक्रमका अध्यक्ष अनिल श्रेष्ठले परिषद् मार्फत् वाङ्‍मयका विभिन्न विधागत कार्यक्रमहरू गरिने जानकारी दिए । ‘सुरु मात्रै भएको छ, अब क्रमशः रचना, बहस र प्रकाशनका कार्यहरू गर्ने छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाको सकारात्मक सोचबाट यो प्रयास सम्भव भएको छ ।’

    सोही समारोहमा आँदिमुलको छेवैमा बसेर मनोज तामाङ र राजेन्द्र सुवेदीले क्यानभासमा चित्र कोरेका थिए । चित्रमा प्राकृतिक चित्रण गरिएको थियो।