× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संविधान र नेपाल-सुनिल उलक

    २ वर्ष पहिले

    असोज -३, हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविधानमा संशोधन गर्नु अनौठो लाग्दैन । तर नेपालमा संविधान नै बदल्ने काम बारम्बार भइरह्यो ।

    कतिपय देशमा अझै पनि सयौं वर्ष पहिले लेखिएका संविधानहरु नै छन् । इटालीको एक छेउमा अवस्थित सानो राष्ट्र सान मारिनोमा ४२१ वर्ष पुरानो संविधान छ, अमेरिकामा २३३ वर्ष पुरानो संविधानले नै काम गरेको छ । तर नेपालमा भने संविधानको परिवर्तनसंगै संविधान दिवसका तिथिमिति पनि बदलिने गर्दछ । निकै वर्ष पुस १ मा संविधान दिवस मान्दै आएको हाम्रो पिढीले बिगतका केही वर्षमा संविधान दिवस कहिले भन्ने अन्योल हुने गरि मिति परिवर्तन हुँदै आएका छन् ।

    पृथ्वीनारायण शाहले उपत्यका विजय पछि धार्मिक मान्यता तथा भारदारी सभाले गर्ने निर्णय नै कानुन हुन्थे । जंगबहादुरले १९१० मा देशको पहिलो मुलुकी ऐन घोषणा गरेपछि संविधानको प्रारुपको शुरुवात भएको थियो । देशको पहिलो संविधान भने २००४ सालमा घोषणा भयो । बहादुर शम्शेरको अध्यक्षतामा मस्यौदा समिति गठन भए पनि राणा परिवार भित्रैबाट बिरोध भए पछि उनले काम गर्न अस्वीकार गरे । त्यस पछि सिंह शम्शेरको नेतृत्वमा मस्यौदा तैयार भयो । प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको बैधानिक कानून २००४ घोषणा गरे । जुन २००५ बैशाख १ गतेबाट लागु भयो ।

    २००७ सालमा राणा शासन समाप्त भएर प्रजातन्त्र आए पछि भगवती प्रसाद सिंहको अध्यक्षतामा मस्यौदा समिति गठन भयो । २००७ चैत २९ गते घोषणा भई २००८ बैशाख १ गतेबाट लागू भएको नेपालको अन्तरिक शासन बिधान २००७ लाई नै नेपालको पहिलो संविधान मान्ने पनि गरिन्छ ।

    संविधान सभा मार्फत नयाँ संविधान बनाउने तैयारी २००७ सालको प्रजातन्त्र पछि नै हुँदै आए पनि सो हुन सकेन । भगवती प्रसाद सिंहकै अध्यक्षतामा गठन भएको संविधान मस्यौदा कमिशनले तैयार गरेको नेपाल अधिराज्यको संविधान २०१५ राजा महेन्द्रबाट २०१५ को फागुन १ गते घोषणा भयो र सोही दिनबाट लागु पनि भयो ।

    तर यो संविधान भने धेरै लामो रहेन । देशमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्त गराइ २०१७ सालको पुस १ गते पंचायती ब्यबस्था लागु भए पछि संविधान पनि परिवर्तनका कुरा निस्किए । ऋषिकेश शाहको अध्यक्षतामा गठित संविधान मस्यौदा आयोगले पेश गरेको पहिलो राजतन्त्रात्मक संविधान २०१९ पुस १ गते राजा महेन्द्रबाट घोषणा भएको थियो । राष्ट्रिय पंचायत नामको एक सदनात्मक ब्यबस्थापिका रहेको सो संविधानमा सम्पूर्ण अधिकार राजामा नै निहित थियो । यो संविधानमा २०२३, २०३२ र २०३७ सालमा सामान्य संशोधन भएका थिए ।

    २०१९ सालको पंचायती एकदलिय ब्यबस्था रहेको संविधान सबैभन्दा लामो समयसम्म रह्यो । २०४५-४६ सालको आन्दोलनको मर्ममा रहि देशले पुन नयाँ संविधान खोज्यो । एकदलिय ब्यबस्थाबाट बहुदलिय ब्यबस्था भएको संविधानको आबश्यकताको खाँचो भयो । विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठन भएको संविधान सुधार सुझाव आयोगले नयाँ संविधानको मस्यौदा राजा विरेन्द्र सामु प्रस्तुत गरेपछि २०४७ कार्तिक २३ गते नेपाल अधिराज्यको संविधान, २०४७ लागु भयो ।

    २०६२-६३ को आन्दोलनले राजाको भूमिकामा नै प्रश्न चिन्ह राख्यो । राजा विरेन्द्रको वंशनाशले राजा बनेका ज्ञानेन्द्रको सक्रियतामा भएको २०६१ माघ १९ को राजनैतिक परिवर्तनको प्रयास नै नेपालको राजसत्ता समाप्तिको एउटा आधार बन्यो । दलिय राजनिती माथि गर्न खोजेको प्रतिबन्धको त्यो प्रयास नै ६२-६३ आन्दोलनको प्रमुख कारण बन्यो । भारतीय भूमीमा बसेर देशमा आन्तरिक द्वन्द चर्काइरहेका माओवादीसंग सहकार्य गर्दै आन्दोलनको शुरुवात भयो । जसले गर्दा परिवर्तित स्वरुपमा नेपालमा पहिलो पटक संविधान सभा मार्फत संविधान बन्ने भयो । तर सो संविधान बन्नु अगाडि २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ लागु भएको थियो ।

    अन्तत संविधान सभाको गठन पछि लामो विचार विमर्श पछि करिव १० वर्षको अथक प्रयास पछि २०७२ असोज ३ गते नेपालको संविधान २०७२ लागु भएको थियो । करिव ७० वर्ष देखिको प्रयास सफल त भयो तर पनि अझै केही त्रुति रहेको अनूभूति भइरहेको छ । यस संविधानमा पनि समय अनुकुल परिवर्तनको अबश्य पनि आबश्यकता रहिरहनेछ ।

    नेपालका हालसम्मका संविधानहरु :

    १. नेपाल सरकारको बैधानिक कानून, २००४ –(६ भाग, ६८ धारा १ अनुसूची)

    २. नेपालको अन्तरिक शासन बिधान, २००७ –(७ भाग, ७३ धारा, ३ अनुसूची)

    ३. नेपाल अधिराज्यको संविधान, २०१५ –(१० भाग, ७७ धारा, ३ अनुसूची)

    ४. नेपालको संविधान, २०१९ –(२० भाग, ९७ धारा, ६ अनुसूची)

    ५. नेपाल अधिराज्यको संविधान, २०४७ –(२३ भाग, १३३ धारा, ३ अनुसूची)

    ६. नेपालको अन्तरिम संविधान, २०६३ –(२५ भाग, १६७ धारा, ४ अनुसूची)

    ७. नेपालको संविधान, २०७२ –(३५ भाग, ३०८ धारा, ९ अनुसूची)