२ वर्ष पहिले
असोज -४, नेपालमा प्रत्येक वर्ष ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले हुने मृत्यु गरेको पाइएको छ। काठमाडौंमा जारी नेपाल हेल्थ समिट, २०२२ मा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले यस्तो तथ्यांक प्रस्तुत गरेको हो।
तथ्यांक अनुसार सन् २००० मा २५,३०० भन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७,५०० भन्दा बढी हुन पुगेको छ। सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको संख्या सन् १९९० देखि वर्षैपिच्छे बढ्दै गएको र विशेष गरी सन् २००० देखि द्रुत गतिमा बढेको तथ्यांकम उल्लेख छ। यही अनुपातले वृद्धि भएमा सन २०५० सम्ममा १३ लाख ४० हजार नेपालीले सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने अनुमान गरिएको छ।
वासिंटन विश्वविद्यालय अन्तर्गतरको स्वतन्त्र, आधिकारिक र विशेषज्ञ स्वास्थ्य अनुसन्धान संस्था, हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनद्वारा संकलन र विश्लेषण गरिएको उक्त तथ्यांकमा २०२० देखि २०५० सम्ममा १,३४०,००० नेपालीले सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने अनुमान गरिएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले तयार पारेको तथ्यांक नयाँ अनुमानमा आधारित छ।
सुर्तीजन्य पदार्थको प्रयोगले नेपालीको स्वास्थ्य र जीवनमा ठूलो र बढ्दो नकारात्मक प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ। हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले हालसालै २०१९ मा विश्वव्यापी रोगको भारको अनुमान सार्वजनिक गरेको छ।
प्रतिवेदनमा हरेक ५ जनामा एक जनाको मृत्यु धुम्रपानका कारणले हुने उल्लेख छ। दक्षिण एशियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देशमध्ये नेपाल रहेको छ भने मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको अवस्था छ। ३० वर्ष अगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्युदर श्रीलंका भन्दा कम थियो भने हाल श्रीलंका भन्दा दोब्बर छ।
प्रतिवेदन अनुसार सन् २०१९ मा नेपालमा हुने मृत्युमध्ये १९.४ प्रतिशतको कारण सुर्तीजन्य पदार्थ थियो भने पाँचमध्ये झन्डै एक मृतकहरूको सङ्ख्या १९९० बाट १०.५ प्रतिशतले वृद्धि भएकोछ। यसैगरी सन् २०१९ मा नेपालमा हुने जम्मा मृत्युको दोस्रो ठूलो जोखिम कारक सुर्तीजन्य पदार्थबनेको छ भने जीवनमा ठूलो जोखिम निम्त्याउँने अन्य कारकहरुमा सुर्तीजन्य पदार्थभन्दा माथि वायु प्रदुषण मात्रै रहेको छ। सन् १९९० मा सुर्तीजन्य पदार्थ चौथो ठूलो जोखिम कारक थियो।
समग्रमा, सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको घटना विगत ३० वर्षमा ६० प्रतिशत भन्दा बढीले बढेको छ। यो सन् १९९० मा २४,००० भन्दा कम थियो भने सन् २०१९ सम्म आइपुग्दा ३७,५२९ पुगेको छ।दक्षिण एसियाका अन्य देशहरुको अनुपातमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युको अनुपात नेपालमा सबैभन्दा बढी रहेको छ। भारतमा २०१९ मा १३.१ प्रतिशत मृत्युको कारण सुर्तिजन्य पदार्थ थियो, जुन नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्यु १९.४ प्रतिशतभन्दा कम हो।
नेपाल सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युको सबैभन्दा धेरै अनुपात भएका विश्वका शीर्ष १५ प्रतिशत देशहरूमा पर्दछ जुन २०४ देशमध्ये २९ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् १९९० देखि २०१९ सम्म नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युको अनुपात विश्वका अन्य देशको तुलनामा अत्यन्तै बढेको छ। नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युको अनुपात ९ प्रतिशतले बढेको छ, जुन अन्य देशको तुलनामा २ प्रतिशतले बढी हो। सुर्तीजन्य पदार्थको प्रकोप घटाउनका लागिकडा कदमन चालेसम्म सुर्तीजन्य पदार्थको कारणबाट हुने मृत्युको संख्या बढ्दै जाने अनुमान गरिएको छ । यदि छिटो कदम चालेको खण्डमा धेरैको ज्यान बचाउन सकिने प्रतिवेदनमा उल्लेख छ।
सुर्तिजन्य पदार्थमा लाग्ने करको वृद्धिले धूम्रपानको उपभोग दर घटाउन र नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने नकारात्मक स्वास्थ्य प्रभावहरूको चिन्ताजनक मार्ग परिवर्तन गर्न मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य खबर