× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन क्षेत्र नं २ मा गठबन्धन भन्दा एमाले बलियो, रवि लामिछानेको पनि चुनौती

    २ वर्ष पहिले

    असोज-२५, आइतबार मनोनयन दर्ता भएसँगै चितवनको राजनीतिक सरगर्मी बढ्न थालेको छ । उम्मेदवार र उम्मेदवार सम्बद्ध दलहरुले आफ्नो पक्षमा मत तान्नका लागि अनेकन तिकडम लगाउन थालिसकेका छन् ।

    चितवन क्षेत्र नम्बर २ को निर्वाचन यसपटक रोमाञ्चक बन्ने देखिएको छ । यस क्षेत्रबाट नेकपा एमालेबाट यसअघिका सांसद् कृष्णभक्त पोखरेल, गठबन्धनमा आबद्घ दल नेपाली कांग्रेसबाट बहालवाला मन्त्री उमेश श्रेष्ठ तथा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पुर्ब चर्चित संचारकर्मी रवि लामिछाने आमने–सामने हुँदा यहाँको निर्वाचन रोमाञ्चक बन्ने भएको हो ।

    चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका नौवटा वडा तथा इच्छाकामना गाउँपालिकाका सबै वडा मिलाएर निर्वाचन क्षेत्र नं २ बनाइएको छ ।

    गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ल्याएको मतलाई आधार मान्ने हो भने चितवन क्षेत्र नं २ मा एकल नेकपा एमालेको मत बढी देखिन्छ । वडा अध्यक्षहरुले ल्याएको मतलाई आधार मान्ने हो भने यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका वडा अध्यक्षहरुले मात्रै ३३ हजार २६७ मत पाएका थिए ।

    पाँच दलीय गठबन्धनबाट विजयी भएका वडा अध्यक्षहरुको मत जम्मा ३३ हजार १४९ छ । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वडा अध्यक्षले पनि दुई हजार ११३ मत पाएका थिए । वडा अध्यक्षहरुले पाएको कुल मतलाई आधार मान्ने हो भने चितवन क्षेत्र नं २ मा नेकपा एमाले यसै पनि बलियो देखिन्छ ।

    पालिकाअनुसार हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट नेकपा एमालेले पाँच र पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी र नेपाली कांग्रेसले जम्मा एक/एक वडामात्रै जितेको थियो । जम्मा सातवटा वडा रहेको यस गाउँपालिकामा राप्रपाले भने जम्मा चारवटा वडामा मात्रै उम्मेदवार उठाएको थियो ।

    वैशाख ३० को मतपरिणामअनुसार इच्छाकामनामा गठबन्धन दलभन्दा नेकपा एमाले नै बलियो देखिन्छ । जहाँ गठबन्धन दलले चार हजार ६९५ मत ल्याउँदा नेकपा एमाले एक्लैले पाँच हजार ६७५ मत पाएको थियो । यस्तै राप्रपाले १०८ मत पाएको थियो । इच्छाकामनामा पालिकाको प्रमुख र उपप्रमुख पदमा भने नेकपा एमालेले जितेको थियो ।

    यही निर्वाचन क्षेत्रभित्र पर्ने कालिका नगरपालिकामा भने नेकपा एमालेभन्दा सत्ता गठबन्धन दल झिनो मतान्तरले अगाडि देखिन्छ । कुल ११ वटा वडा रहेको कालिकामा गठबन्धन दलले १० हजार ६५७ मत ल्याउँदा नेकपा एमालेले १० हजार ५३५ मत पाएको थियो । यस्तै, राप्रपाले ७४९ मत पाएको थियो । यस पालिकामा गठबन्धन दलबाट नेपाली कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई वडा जितेको थियो भने नेकपा एमालेले चारवटा वडा जितेको थियो ।

    निर्वाचन क्षेत्र २ भित्र भरतपुर महानगरपालिकाका ९ वटा वडा समावेश छन् । वडा नं १, २, ३, ४, ९, १०, ११, १२ र २९ लाई निर्वाचन क्षेत्र नं २ मा समेटिएको छ । भरतपुरको सबैभन्दा ठूलो वडा मानिने वडा नं ११ नेकपा एमालेको आधार क्षेत्र मानिन्छ, जहाँ वडा अध्यक्ष नेकपा एमालेले नै जितेको थियो ।

    भरतपुरका नौवटा वडाको मत हेर्दा गठबन्धन दल र नेकपा एमालेमा थोरै मतान्तरले गठबन्धन अगाडि देखिन्छ । गठबन्धन दलका उमेदवारले १७ हजार ७९७ मत ल्याउँदा नेकपा एमालेले १७ हजार ६६ मत पाएको थियो । यस्तै राप्रपाले एक हजार २५६ मत पाएको थियो । भरतपुरमा एमालेले तीनवटा वडा जित्दा गठबन्धन दलको कांग्रेसले पाँच र एकीकृत समाजवादी पार्टीले एउटा वडा जितेको थियो । भरतपुरको नौवटा वडामा कुल मत हेर्दा गठबन्धन दलबाट ३३ हजार १४९ र नेकपा एमालेले ३३ हजार २७६ मत पाएको थियो । पछिपछि दौडेको राप्रपाले भने दुई हजार ११३ मत पाएको थियो ।

    यो क्षेत्रमा स्थानीय निर्वाचनको मतपरिणाम जे जस्तो भएपनि पुर्ब चर्चित संचारकर्मी रवि लामिछानेको पनि उम्मेदवारी परेको हुँदा परिणाम उलटफेर हुने सम्भावनालाई भने नकार्न सकिदैन।