× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रमेश खतिवडा द्वारा लिखित समालोचनात्मक पुस्तक “परिचर्चा”को विमोचन कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    कार्तिक-१२, चितवनको इच्छाकामना-३ चुम्लिङटारमा समालोचक रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक “परिचर्चा”को विमोचन कार्यक्रम सम्पन्न भएको छ।

    जेष्ठ सदस्य गोविन्दप्रसाद पौडेल ( मास्टर बा)को अध्यक्षता, छन्दवादी कवि कृष्णप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा कवि तथा आख्यानकार अनिल श्रेष्ठ एवं इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम कवि नारायण पौडेलले सञ्चालन गर्नुभएको थियो।

    १० ओटा कृतिमाथि केन्द्रित रहेर १२ ओटा समालोचनात्मक लेखहरू समेटीको सो पुस्तकलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो।

    सो पुस्तकको टिप्पणी गर्दै समालोचक,कवि एवं उप प्रध्यापक तेजविलास अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पोखरेलको कृतित्व र व्यक्तित्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको बताउनुभयो ।

    कार्यक्रममा लेखकलाई कवि एवं आख्यानकार अनिल श्रेष्ठ, एकराज शर्मा, माधवप्रसाद खनाल, श्रीरेन्द्र पोख्रेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने समालोचक खतिवडाले कार्यक्रम सहयोगको लागि सबैलाई धन्यवाद दिएका थिए।

    ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो।