× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टि२० विश्वकपको फाइनलमा

    २ वर्ष पहिले

    कार्तिक-२३, पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

    जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनमा आउट भए । बाबर आजम ४२ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

    बाबरको यो टि२० आई करिअरको ३० औं अर्धशतक हो । यसअघिका खेलमा खराब प्रदर्शन गरेपनि महत्वपूर्ण खेलमा बाबरले अर्धशतक प्रहार गरेका हुन् ।

    पहिलो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले १२.४ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बाबर र रिजवानले आठौं पटक शतकीय साझेदारी गरेका हुन् ।

    कप्तान बाबर आजमले पहिलो ओभरको चोथौ बलमै शून्यमा जीवनदान पाएका थिए । ट्रेन्ट बोल्टको बलमा एज लागेपनि विकेटकिपर डेभन कन्वेले क्याच छाड्न पुगेका थिए ।उक्त क्याच न्युजिल्यान्डलाई भारी पर्यो ।

    बाबर ट्रेन्ट बोल्टको बलमा लङअनमा डर्याल मिचेलबाट क्याच आउट भएका थिए । युवा ब्याटर मोहम्मद हरिसले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भए । विजयी रन प्रहार गरेका शन मसुद ३ रनमा अविजित रहे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

    त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए । जेम्श निसम १२ बलमा १ चौकासहित १६ रनमा अविजित रहे ।

    इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई लङअनमा चौका हान्दै राम्रो सुरुवातको संकेत दिएका थिए । तर दोस्रो बलमा उनी रिभ्युको कारण बचे । इन स्वींग बलमा अम्पायरले एलबीडब्लू आउट दिएपनि एलेनले रिभ्यु लिँदा बलले ब्याटमा लागेको थियो।

    तर तेस्रो बलमा भने उनी एलीबडब्लू आउटको शिकार बन्न पुगे । रिभ्यु लिएपनि लगातार दोस्रो पटक एलेन सफल हुन सकेनन् । दोस्रो विकेटका लागि केन विलियम्सन र डेभन कन्वेले ३४ रनको साझेदारी गरेका थिए ।

    कन्वे छैटौं ओभरको अन्तिम बलमा एक रन लिने धुनमा २१ रनमा रन आउट भए । नन स्ट्राइकमा शादब खानले मिडअफबाट डाइरेक्ट स्टम्प ताकेपछि पेभेलिएन फर्किनु परेको थियो । उनले २० बलमा ३ चौका हाने ।

    आठौं ओभरको अन्तिम बलमा ग्लेन फिलिप्स स्पिनर मोहम्मद नवाजको बलमा ६ रनमा कट एण्ड बोल्ड भएपछि न्युजिल्यान्ड ४९–३ को अवस्थामा पुगेको थियो । बंगलादेशविरुद्ध शतक हानेका फिलिप्स आउट भएपछि विलियम्सन र डर्याल मिचेल पनि दबाबमा परेका थिए ।

    चौथो विकेटका लागि विलियम्सन र डर्याल मिचेलले ५० बलमा ६८ रनको साझेदारी गरेका थिए । विलियम्सनको १७ औं ओभरको दोस्रो बलमा दील स्कुप सट खेल्न खोजेपनि विलियम्सन बोल्ड हुन पुगेका थिए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए ।

    पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ ।