× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले टि२० विश्वकपको फाइनलमा, उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

    २ वर्ष पहिले

    कार्तिक-२४, इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड र पाकिस्तान दुबै दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।

    जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

    कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए।

    त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

    विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

    चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए ।

    रोहित शर्मा २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । रोहित क्रिस जोर्डनको बलमा डीपमा साम करनबाट क्याच आउट हुन पुगेका थिए । विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा फिलिप साल्टबाट क्याच भए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेलेका सूर्य क्याच हुन पुगेका थिए । ऋषभ पन्त ६ रनमा रन आउट भए ।

    इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

    इंग्ल्यान्ड सन् २०१० को टि२० विश्वकप च्याम्पियन टोली हो । पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो ।