२ वर्ष पहिले
मंसिर -१,चितवन जिल्लाको विकट पहाडी भु-भागमा रहेको इच्छाकामनामा गाउँपालिका सुगम जिल्लाको दूर्गम ठाउँको रुपमा रहेको छ। सामाजिक हिसाबले अति पिछडिएको अल्पसंख्यक चेपाङ जाति देखी दलित, गुरुङ, मगर,ब्राह्मण, क्षेत्री , नेवार, थकाली, तामाङ आदि जस्ता जातजातिहरुको बसोबास रहेका छन्।
भौगोलिक हिसाबले विकटता भएपनि राजनैतिक चेतनाको हिसाबले भने यो गाउँपालिका अगाडि नै छ।
२०३६ साल को जनमत संग्रहमा निर्दलीय व्यवस्था विरुद्ध केही छिटपुट रुपमा विरोधका स्वरहरु निकाल्न थाले देखि त्यसपछिका हरेक परिवर्तनहरूमा यस गाउँपालिकाका बासिन्दाले आफ्नै किसिमको भूमिका खेलेका छन्।
त्यसैगरी कुनैपनि पार्टीगत आन्दोलनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु आन्दोलन गर्न काठमाडौं जाने, जिल्ला सदरमुकाम भरतपुर जानेदेखि स्थानीयस्तरको आन्दोलनहरुमा सक्रिय रुपमा सहभागी भएका हुन् ।
हरेक निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि यस गाउँपालिकामा रहेका राजनीतिक पार्टीमा आवद्ध स्थानीय नेता तथा कार्यकर्ताहरु सधैं नै कटिबद्ध भएर लागेका छन्।
यस गाउँपालिकाका केही स्थानीय नेताहरु छन् जसले पार्टीको हरेक निर्णय शिरोधार्य गरेर आफ्नो घरबार छोडेर पनि नेतृत्वको विजयीका लागि आफ्ना व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर अगाडि बढेका छन्। यसरी स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुले आफ्नो पाटी लागि जति योगदान दिएपनि पार्टी पङ्क्तिको केहि जिल्लागत नेतृत्व बाहेक सार्वजनिक पदमा पुग्ने पर्ने ठाउँहरुमा सम्भावना बोकेका इच्छाकामनाका नेताहरुलाई भने सधैं नै पछाडि पारिएका छन्।
यस स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले अथवा माओवादीका कयौ क्षमतावान नेताहरु छन् जसले जिल्लाका सार्वजनिक पद हाक्न सक्ने खुबी राख्छन् तर पनि अहिलेसम्म यस्तो मौका कसैले पनि पाएका छैनन्।
तर यसपटक परिस्थिति बदलिएको छ।यसपटक इच्छाकामना गाउँपालिकाले आफ्नै घर आँगनमा जन्मेहुर्केको स्थानीय नेतालाई सांसद रुपमा देख्न सक्ने सम्भावना बढेर गएको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन निवासी कृष्ण सिलवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा चितवन क्षेत्र नं. २ को ‘क’ मा सांसदको उम्मेद्वार बनाएको छ ।
२०३६ सालमा विद्यार्थीकाल देखि नै बहुदलीय व्यवस्थाको माग गर्दै आन्दोलनमा होमिएका सिलवालले त्यसपछिका हरेक आन्दोलनमा कम्युनिष्ट पार्टीको तर्फबाट नेतृत्व लिइरहनुभएको थियो।
२०५४ सालको निर्वाचनमा तत्कालीन दारेचोक गाउँ विकास समितिको उपाध्यक्षमा अत्याधिक मतका साथ विजयी हुनुभएपछि उहाँको कार्यकाल प्रति कसैले पनि उहाँप्रति औंला ठड्याउने खालको काम गर्नुभएन।निष्कलंकको छवि बनाएर सधै जनपक्षिय कार्यकर्ताको रुपमा काम गरेर सबैको मन जित्नु भएको थियो।
कानुनमा स्नातकसम्म अध्ययन गरेर अधिवक्ता हुनुभएका सिलवालले सेवा नै धर्म हो भन्ने कुरालाई मनन गरेर पहाडका गरिब नागरीकहरुलाई आफ्नो क्षमताले भ्याए सम्मको कानुनी सल्लाह लेखापढी निःशुल्क रुपमा उपलब्ध गराउदै आएका छन्।
पटकपटक आफ्नो क्षमतालाई प्रमाणित गर्नुभएका सिलवालले यसपटक पनि आफ्नो क्षमताको कारण प्रदेश सभाको उम्मेदवारको रुपमा पार्टीले उहाँलाई विश्वास गरेका छन्।
हुन त यसअघि पनि केही व्यक्तिहरू स्वतन्त्र रुपमा सांसद पदमा नउठेको त होइन तर जित्ने आधार भएका ठूला पार्टीको तर्फबाट कृष्णप्रसाद सिलवाल सांसद पदमा उठ्नु भएको भने यो प्रथम पटक हो।
हुन त इच्छाकामना गाउँपालिकामा कृष्णप्रसाद सिलवाल मात्र होइन हरेक पार्टी पङ्क्तिमा क्षमतावान नेताहरु छन् तर हालसम्म ठुला दलबाट कसैलाई पनि सांसदको रुपमा प्रस्तुत गरेका थिएनन्। सिलवालको उम्मेदवारी इच्छाकामना गाउँपालिकाको लागि ऐतिहासिक क्षण हुन गइरहेको छ।
गत स्थानिय निर्वाचनको मत आधार तथा निष्कलंक छवि भएका कारण भरतपुर तथा कालिका नगरपालिकावाट पार्टीको भोट बाहेक सहानुभूतिका भोट पनि प्राप्त हुने सम्भावनालाई हेर्दाखेरि पनि एमाले नेता कृष्णप्रसाद सिलवालको सम्भावना अधिक नै छ।सम्भवत इच्छाकामना गाउँपालिका बाट आगामी निर्वाचनमा पालिकाको पहिलो सांसदको रुपमा अवसर प्राप्त गर्ने गइरहेको छ।
मंसिर ४ को मतदानपछि एउटा फैसला त आउने नै छ।यदि कृष्णप्रसाद सिलवाल विजयी भएको खण्डमा फेरि पनि एमाले मात्र होइन हरेक पार्टीको नेतृत्व तहले पनि यस गाउँपालिकामा रहेका क्षमतावान स्थानीय नेतालाई सांसदको रुपमा प्रस्तुत गर्नुपर्ने बाध्य हुनेछ।
हरेक पार्टीले इच्छाकामना गाउँपालिकाका स्थानीय नेता कार्यकर्ता तथा जनतालाई भोट बैंकको मतदाता रुपमामात्र नहेरेर जिल्लालाई नै नेतृत्व गर्न सार्वजनिक पद धारण गर्न सक्ने नेताको रुपमा सांसदको रुपमा फेरि पनि उठाउने बाध्य हुनेछ।
जुनसुकै पार्टीबाट भएपनि इच्छाकामना गाउँपालिकाको तर्फबाट सांसद पदमा उठ्नु भएका कृष्णप्रसाद सिलवालको उम्मेदवारी पक्कै एतिहासिक नै छ । अझ निर्वाचनमा विजयी भएमा यस पालिकाको राजनैतिक इतिहास बदल्ने कडि हुनेछ।