× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाको इतिहास रच्दै एमालेको कृष्णप्रसाद सिलवाल विजयी

    २ वर्ष पहिले

    मंसिर-८, इच्छाकामना निवासी एमाले नेता कृष्णप्रसाद सिलवाललेले चितवन २ ‘क’ मा गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै इतिहास कोर्न सफल भएका छन्।

    पछिल्लो मतपरिणाम अनुसार उनले १६ हजार ५ सय मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी गठबन्धनका घनश्याम दाहालले १५ हजार २ सय ६० मत पाएका छन्। सिलवालले १ हजार २ सय ४० मतको अन्तरले जित हासिल गरेका हुन्।

    चितवनको विकट पहाडी भु-भागमा रहेको इच्छाकामना गाउँपालिका निवासी प्रदेशसभाको सदस्यको रूपमा विजयी भई गाउँपालिका कै पहिलो साँसद बनेर इतिहास रच्न सफल भएको हुन्।

    को हुन् कृष्णप्रसाद सिलवाल ?

    वि.सं. २०२५ साल असार ८ गते तात्कालीन दारेचोक गाविसको बेलडाडामा जन्मिएका कृष्णप्रसाद सिलवाल सानै देखि राजनितिमा लागेका हुन्।

    ११ वर्षको उमेरमै २०३६ सालमा भएको बहुदलीय ब्यबस्थाको माग गर्दै चैत्र २४ गते आयोजना भएको नेपाल बन्दमा आफैलाई पढाउने शिक्षकको निर्देशनमा बन्द सफल बनाउन सडकमा गारो लगाएर राजनैतिक आन्दोलनमा सहभागी भएका थिए । सो दिनको प्रहरीले शिक्षकलाई पक्राउ गरेर जेल हालेपनि बच्चा भएकोले प्रहरीले उहाँलाई छोडेका थिए ।

    त्यसपछि विद्यालय स्तरमै उनी अनेरास्ववियुमा आबद्ध भएका हुन् । गोरखाको मकैसिङमा १० कक्षा पढ्दै गर्दा बिध्यालयबाट स्वबियुको बर्खास्तीे विरुद्ध लड्दा उनी लखेटिनु परेको थियो । यसरी पढ्दै गर्दा लखेटिनु परेपछि भागेर चितवनको बालकुमारी माबि नारायणगढमा भर्ना भएर विद्यालय शिक्षा पुरा गरे।

    सदैव समाजमा रहेको अन्याय अत्यचारको बिरुद्ध आवाज उठाउने सिलवाललाई तात्कालिन पन्चायती शासकले २०४२ सालमा उग्रबामपन्थीको आरोपमा गिरफ्तार गरेर ९ दिनसम्म मरणासन्न हुने गरि यातना दिएर छोडेका थिए।

    पन्चायती ब्यबस्था विरुद्धको आन्दोलनमा होमिएका उनी २०४६ सालको वृहत जनआन्दोलनमा समेत सक्रिय सहभागिता रह्यो। २०४६ साल चैत्र २६ गते बहुदलीय ब्यबस्थ्या घोषणा हुदा मुग्लिङमा बामपंथीको तर्फबाट बोल्ने मुख्य वक्ता नै उनी थिए।

    बामपन्थी आन्दोलनमा कटिबद्ध भएर लागेका सिलवालले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गर्यो ।पार्टी सदस्यता पाएपछि गाउँ कमिटीको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै २०५० सालमा नेकपा एमालेको चितवन जिल्ला कमिटि सदस्यमा निर्वाचित भए। त्यहि बेला देखि नै उनी कबिलास, दाहाखानी, दारेचोक, चण्डिभन्ज्याङ लगायतका चितवनको पहाडी इलाकाहरुमा पार्टी संगठनको विस्तारमा लागे।

    उनको पार्टी प्रतिको लगाव एवं लोकप्रियता देखेरै २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले उनलाई तात्कालिन दारेचोक गाबिसको उपाध्यक्षमा उम्मेद्वार बनायो। सो निर्वाचनमा पार्टीका अध्यक्ष पदका उम्मेदवारले झिनो मतले हारेपनि उनले भने अत्याधिक मतका साथ उपाध्यक्षको रुपमा जित हासिल गरे। जित पश्चात २०५४ सालदेखि २०६० साल सम्म जनपक्षीय प्रतिनिधि तथा निस्कंलक एवं निर्विवादित भएर पार्टी र जनताको पक्षमा काम गरे।

    पटकपटक पार्टीमा आएको फुट विरूद्ध लागेर पार्टीको मूलधारको राजनीतिमा सतिसाल झैं उभिएको सिलवाल हाल नेकपा एमाले इच्छाकामना गाउँ कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका छन् । उनैको नेतृत्वमा स्थानीय निर्वाचनमा इच्छाकामनामा एमालेले अत्याधिक बहुमतका साथ विजय हासिल गरेका हुन्।

    उनले कानुनमा स्नातकसम्म अध्ययन गरि अधिवक्ता भएपछि पहाडी गाउँका नागरिकहरुलाई आफ्नो क्षमताले भ्याए सम्मको निःशुल्क कानुनी सल्लाह, लेखापढी गर्दै सेवा प्रदान गरे।

    राष्ट्रिय राजनीतिमा नै चौतर्फी रुपमा एमालेलाई घेराबन्दी गरेको अवस्थामा चितवन २ ‘क’ मा एमालेका उम्मेदवार बनाइएका सिलवालले “आफु समाजमा भएको बेतिथी र भ्रष्टाचार बिरुद्धको खरो आलोचक भएको र सांसद भएपछि पनि भष्ट्राचारको गन्ध आउन दिन्न” भन्ने मूल मुद्दालाई अहिलेको निर्वाचनमा जनताले अनुमोदन गरेका छन्।सिलवालले विभिन्न बाधा अवरोधका बाबजुद अत्याधिक मतका साथ इच्छाकामना गाउँपालिकाकै पहिलो साँसद को रुपमा विजयी भई इतिहास रच्न सफल भएका छन्।