× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा रविको उदय हुदाँ तीन ठुला पार्टी बढारिए

    २ वर्ष पहिले

    मंसिर -१०, चितवनमा राष्ट्रिय स्वतन्त्रता पार्टीका संयोजक रवि लामिछानेको उदय हुँदा तीन ठुला राजनैतिक पार्टी बढारिएका छन्।

    कुनै बेला कांग्रेसको र कुनै बेला वामपन्थीको गढ मानिएको चितवनमा यस पटक कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभामा एक सिट जित्न सकेनन् । चितवनका तीन निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसले दुई-दुई तथा माओवादी केन्द्रले एक ठाउँमा उम्मेदवार बनाएको थियो ।

    कांग्रेसबाट चितवन १ मा विश्वनाथ पौडेल र चितवन २ मा उमेश श्रेष्ठ उम्मेदवार थिए भने एमालेबाट चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ मा निर्वाचन लड्न गएपछि चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको थियो ।

    चितवन ३ मा कांग्रेसले माओवादीका अधिकारीलाई सहयोग गर्दा एमालेले कांग्रेसबाट बागी उठेका दिनेश कोइरालालाई सघाएको थियो । तर, चितवनका तीनवटै क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल बढारिएका छन् ।

    एमालेको बलियो पकड भएको क्षेत्र चितवन १ मा रवि लामिछानेको प्रभावले राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भए । रास्वपाका ढकालले कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे । ढकालले ३४ हजार १८९ मत पाउँदा एमालेका पाण्डेले २६ हजार ६०८ र कांग्रेसका पौडेलले २४ हजार ९९० मत पाए ।

    त्यस्तै, चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भए । रविले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई फराकिलो मतान्तरले पराजित गरे । रविले ४९ हजार ३०० मत पाउँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।

    कांग्रेसको पकेड क्षेत्र मानिएक र अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित भएको चितवन ३ मा यसपटक राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् ।

    राप्रपाका पाण्डेले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पराजित गरेका हुन् । राप्रपाका पाण्डेले ३५ हजार ५५ मत पाउँदा माओवादीका अधिकारीले २५ हजार ८२२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ र कांग्रेसबाट बागी उठेका दिनेश कोइरालाले १२ हजार २७५ मत पाए । अघिल्लो निर्वाचनमा चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे, २ बाट एमालेकै कृष्णभक्त पोखरेल र ३ बाट माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।