× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नागढुंगा-मुग्लिङ सडकको तीन खण्डमै ठेक्का लाग्यो, तीन बर्ष भित्र निर्माण सम्पन्न हुने

    २ वर्ष पहिले

    मंसिर-२८, नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । मुलुककै ‘लाइफलाइन’ सडकका रूपमा रहेको यो खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक बनाइने छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार ठेक्का सम्झौता गरेर दुई खण्डको काम भइरहेको छ ।

    एउटा खण्ड मलेखु–मुग्लिङको भने साताअघि मात्रै ठेक्का सम्झौता भएकाले काम सुरु हुन केही दिन लाग्ने छ । विश्व बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको सडक विभागले जनाएको छ । पहिलो प्याकेजका रुपमा नागढुंगा–नौबिसे खण्ड रहेको छ । जसको दूरी १२.२६ किलोमिटर छ । यो खण्डको ठेक्का रकम १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ हो । यसको ठेक्का सम्झौता २०७८ चैत २९ भएपनि काम २०७९ जेठ २६ गतेबाट सुरु भएको हो । निर्माणको काम २०८१ जेठ २७ भित्र सकिसक्नु पर्ने छ । ठेक्का जाङ्सू–सगुन जेभीले लिएका हुन् । जाङ्सू चिनियाँ कम्पनी हो । ‘सवारी आवागमन प्रभावित नहुनेगरी काम थालिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले पर्खाल लगाउने काम भइरहेको छ ।’

    दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो । जसको दूरी ४८.५ किलोमिटर छ । यो खण्डमा सर्भेको काम सकेर निर्माणको काम सुरु गर्न लागिएको छ । जुन खण्डको ठेक्का रकम ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । ठेक्का जेटआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । जेटआईसीजी चिनियाँ कम्पनी हो । ठेक्का सम्झौता २०७९ वैशाख १४ मा भएको र कार्यादेश जेठ २६ गते दिइएको विभागले जनाएको छ । काम २०८२ जेठ २७ भित्र सकिसक्नु पर्ने छ ।

    तेस्रो प्याकेज हो, मलेखुदेखि मुग्लिङसम्म । जुन खण्डको ठेक्का शर्मा–जेटआईसीजीले लिएको हो । यो खण्डमा भने काम सुरु भएको छैन । यसको ठेक्का रकम ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ हो । जसको दुरी ३४.१४ किलोमिटर छ । निर्माण अवधि तीन वर्षको रहेको छ । विभागका अनुसार दुई लेनको सडक ४८ किलोमिटर, क्लाइम्बिङ लेन ३७.५ किलोमिटर र चार लेन सडक ९.४ किलोमिटर सहित मुग्लिनसम्म ९४.९ किलोमिटर सडक स्तरोन्नति हुने छ । यो खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिने छ । अहिले चालु रहेका पुराना पुल दुई लेनका छन् । तिनै पुलका छेउमा थप दुई लेनकै नयाँ पुल निर्माण गरिने प्रवक्ता अधिकारीले बताए ।

    यो सडकको ठेक्का गर्न दुई वर्ष अघिबाट तयारी थालिएको थियो । ‘सुरुमा सडक बन्द गरेर काम गर्ने र सवारी साधनका लागि वैकल्पिक मार्ग बनाई त्यतै डाइभर्ट गर्ने योजना थियो,’ उनले भने, ‘तर यो सम्भव भएन, नारायणगढ–मुग्लिन सडक बन्द गरेर काम गर्दा यात्रुले खेप्नु परेको सास्ती थाहा पाएरै अहिलेसम्म यो सडक बन्द गरेर काम गर्ने भन्ने सोचमा छैनौं ।’ उनका अनुसार सबै सडक एकैपटक भत्काइने छैन । तीन खण्डमा सवारी साधन अबरुद्ध नहुनेगरी काम गरिने छ ।

    मुग्लिनबाट काठमाडौंतर्फ आउने मालबाहक सवारीका लागि छुट्टै क्लाइम्बिङ लेन बनाइने छ । विभागका महानिर्देशक अर्जुनजंग थापा ३० वर्षपछि यो सडकको स्तरोन्नति गर्न लागिएको बताउँछन् । ‘सन् १९७४ मा चीनले नागढुंगादेखि पोखरासम्म १८५ किलोमिटर सडक बनायो, त्यही अन्तर्गत यो सडक पनि पर्‍यो, पछि १९९३ मा सडक सुधारको काम भयो,’ महानिर्देशक थापाले भने, ‘त्यसपछि अहिले आएर स्तरोन्नतिको काम सुरु गरिएको हो ।’ सडक स्तरोन्नतिको काम सकिएपछि ५ वर्षसम्म जसले ठेक्का लिएको हो, उसैले मर्मत सम्भार गर्नुपर्ने छ । पहिरो जाने खतरा भएको ठाउँमा सडक चौडा गरिने छैन । यो सडक भएर दैनिक १० हजार बढी ठूला साना सवारी ओहोरदोहोर गर्छन् । कान्तिपुरबाट