× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शाहरुख खानको पठान फिल्ममा दीपिकाले लगाएको लुगाले मध्य प्रदेशमा बबाल

    २ वर्ष पहिले

    मंसिर-२९, बलिउडको बादशाह उपनामले चिनिने शाहरुख खानको फिल्ममा नायिका दीपिका पादुकोनले गीतमा लगाएको एउटा लुगालाई लिएर मध्य प्रदेशमा बबाल मच्चाएको छ ।

    आगामी बर्ष सन् २०२३ मा रिलिज हुने ‘पठान’ फिल्मको हालै सार्वजनिक ‘बेसरम’गीतमा दीपिकाले लगाएको केशरी रङको लुगालाई लिएर मध्य प्रदेश सरकारका मन्त्री र विपक्षी पार्टीका नेता विरोधमा उत्रेका छन् ।

    फिल्मको गीत हेरेर राज्यका गृहमन्त्री नरोत्तम मिश्रले गीतमा दीपिकाले लगाएको लुगा भारतीय समाज सुहाउँदो नभएको बताएका छन् । उनले निर्माण टिमले कि त त्यो गीत हटाउनु पर्ने कि त दृश्य परिवर्तन गर्नुपर्ने नत्र भने सरकारले फिल्मविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

    ‘दीपिकाले लगाएको लुगाले हाम्रो आस्थालाई प्रहार गरेको छ र गीत फोहोरी मनसायका साथ खिचिएको छ । लुगा र दृश्य परिवर्तन गर्नुपर्छ । हैन भने मध्यप्रदेश सरकार फिल्मविरुद्ध कारबाही गर्न बाध्य हुन्छ,’ मिश्रले भनेका छन् ।

    गीतमा दीपिकाले लगाएको लुगालाई लिएर हिन्दू समर्थक मोर्चाका अनेक संगठन पनि विरोधमा उत्रिएका छन् । उनीहरूले आफूहरूले पवित्र मानेर लगाउने रङलाई गलत मनसायका साथ प्रस्तुत गरेको भन्दै गीत र फिल्मको विरोध गरिरहेका छन् । भारतमा साधुसन्तले गेरु रङको लुगा लगाउने गरेका छन् ।

    यस्तै मध्य प्रदेशको इन्दौर शहरमा ‘वीर शिवाजी ग्रुप’ नामक संगठनले आगामी बर्ष २०२३ जनवरीमा प्रदर्शन हुन गइरहेको फिल्मलाई प्रतिबंध गर्न माग गर्दै फिल्मका नायक शाहरुख खान र नायिका दिपिका पादुकोणको पुत्ला जलाएका छन्।