२ वर्ष पहिले
पुस-९, इच्छाकामना गाउँपालिकामा हालसम्म करिब पौने दस करोड रूपैयाँ बेरूजु रकम देखिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको ‘बेरूजु रकमको अवस्था’मा नियमित र असुली गर्नुपर्ने गरी ९ करोड ७४ लाख ९८ हजार ७२२ रूपैयाँ बेरूजु रकम देखिएको हो । त्यसभित्र पनि आर्थिक वर्ष २०७७/०७८ मा पाँच करोड २८ लाख ७७ हजार ३६८ र आर्थिक वर्ष २०७६/०७७ मा सात करोड १९ लाख छ हजार रूपैयाँ संपरीक्षण भएको बेरूजु रकम हो ।
गत पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा बढ्दै गएको बेरूजु रकम गत आर्थिक वर्ष घटेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दाबहादुर गुरूङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेरूजु रकम बढेर १३ करोड ६२ लाख ५८ हजार रूपैयाँसम्म पुगेको थियो । आर्थिक वर्ष २०७७/७८ को आर्थिक मसान्तसम्मको अवस्था हेर्दा बेरूजु रकम पनि घटाएर पौने दस करोडमा झार्न सफल भएको उनले बताए।
यसअघि आर्थिक वर्ष २०७५/०७६ मा दस करोड ८९ लाख ५६ हजार, आर्थिक वर्ष २०७४/०७५ मा ५ करोड ८८ लाख ३३ हजार र आर्थिक वर्ष २०७४/०७५ भन्दा अगाडि तीन करोड ३४ लाख ६० हजार रूपैयाँ बेरूजु थियो । स्थानीय सरकार आएदेखिकै अवस्था हेर्ने हो भने बर्सेनि बढ्दै गएको बेरूजु रकम दोस्रो कार्यकालका लागि स्थानीय सरकार चुनिएसँगै घटाउन सफल भएको अध्यक्ष गुरूङको दाबी छ ।
‘देखिएको कुल बेरूजु रकममध्ये करिब १० प्रतिशतचाहिँ असुल गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘बाँकी नियमित बेरूजु हो ।’ असुल गर्नुपर्ने रकम पनि समयमै असुल गर्ने उनको भनाइ छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको नेतृत्वमा आइपुगेपछि सात महिना कार्यकाल सकिँदै गर्दा बेरूजु रकम घटाउन ठूलै मिहिनेत गरेको अध्यक्ष गुरूङले बताए ।
‘हामी आउँदो वर्ष बेरूजु रकमलाई अझै कम गराउने गरी काम गरिरहेका छौँ’, उनले भने, ‘त्यसका लागि जनप्रतिनिधि र कर्मचारी सबैले इमानदारिता देखाउन जरूरी छ ।’ पालिकामा नयाँ नेतृत्व आइसकेपछि जनताको चासो र गुनासोलाई ध्यानमा राखेर काम गर्ने प्रयास गरिएको उनले बताए । बेरूजु रकम नदेखिने गरी काम गर्न सरकारी क्षेत्रबाटै असार मसान्तमा हुने भुक्तानी सेवा रोक्नुपर्ने उनको बुझाइ छ । ‘असार मसान्तमा भुक्तानी गर्ने प्रक्रिया रोक्नुपर्छ’, उनले भने, ‘यसैका कारण अरु समयमा काम नगर्ने र असार मसान्त लागेपछि मात्रै काम गर्न खोज्ने परिपाटीको विकास मौलाउँदै गएको छ ।’
वर्षौंदेखि जनताले गर्दै आएको गुनासोलाई सम्बोधन गर्ने गरी काम गर्ने हो भने सरकारले हिउँदको समयभरि विकास निर्माणको काम गरेर देखाउनुपर्ने उनले बताए । ‘असार मसान्त आइपुग्यो भनेर बर्खा लागिसकेपछि हतार–हतारमा काम गर्दा न गुणस्तरीय काम हुन्छ, न त काम नै सकिन्छ’, उनले थपे, ‘विशेषगरी, विकास निर्माणको हरेक कामलाई सुक्खा याममा गराउने हो भने अर्थपूर्ण तरिकाले काम गर्न पाउँछ ।’ जनताको सेवाका लागि हरेक वडाका जनप्रतिनिधि र कर्मचारीले घरदैलोमै पुगेर सेवा दिन सक्नुपर्ने उनले बताए । भूगोल र अवस्थालाई हेरेर जुनसुकै समयमा पनि सेवा दिन सक्ने गरी काम गर्ने हो भने जनताले दुःख पाउनु नपर्ने अध्यक्ष गुरूङको भनाइ छ । नारायणी अनलाईनबाट