× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस

    २ वर्ष पहिले

    पुस-२३, राष्ट्रिय विभूति अरनिकोको सम्झनामा हरेक बर्षको पुस २३ गते स्मृति दिवस मनाउने गरिन्छ ।

    नेपाल कमसिर्यल आर्टिस्ट संघको पहलमा विसं २०५८ साल देखि महान कलाकार अरनिकोको स्मृति दिवस मनाउने थालेको हो।

    तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका उनको जीवनी गहिरो खोज एवं अनुसन्धान हुन सकेको छैन । सन् १२४४ मा पाटनमा जन्मनु भएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका थिए ।

    अरनिकोको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरिएको थियो । उक्त सम्पदा अहिले पनि महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको छ।

    अरनिको कला निर्माणका शैलीबारे जानकार भएका चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास छ । ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलिया लगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।

    अरनिकोको वास्तविक नाम बलबाहु भए पनि अरनिको नामले परिचित भएपछि चीनको बादशाहले उनलाई क्वान्ह्यु नाइफ र नासथु उपाधि दिएका थिए । उनी र उनको समूहले वास्तुकलाको माध्यमबाट निर्माण गरेका कला, कृति र सम्पदाले नेपाल र चीन दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने काम गरेका छ।

    तत्कालीन समयको तिब्बतमा सुनको जलप भएका मूर्ति बनाउने, प्राचीन मूर्तिलाई जीर्णोद्धार गर्दा स्वदेशी शैलीको प्रयोग, नेपाली शैलीका बुद्ध मूर्ति, देवदेवी, पौभा चित्रको विकासमा योगदान गरेको उक्त समूहले बौद्धधर्मका विभिन्न कृति तिब्बतमा पुर्याएको विश्वास छ ।

    नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिको रुपमा घोषणा गरेको छ ।