× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्ववियुको निर्वाचन चैत ५ गते हुने

    २ वर्ष पहिले

    पुस-२४, त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेको छ । त्रिविको विद्यार्थी कल्याण परिषद्को शुक्रबार साँझ बसेको कार्यकारीको बैठकले मिति घोषणा गरेका हो।

    कार्यकारी परिषद्ले २८ वर्ष उमेर हद तोकेर मिश्रित निर्वाचन प्रणाली लागु गर्ने गर्नेगरी मिति घोषणा गरेको छ । मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उप सभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने गरी निर्वाचन हुनेछ ।

    त्रिविको सबै नीतिगत र कानुनी निर्णय कार्यकारी परिषद्ले गर्नुपर्ने व्यवस्था छ । कार्यकारी परिषद्मा उपकुलपति, रेक्टर, रजिस्ट्रार, दुईवटा संकायका डीन र दुईजना प्राध्यापक रहने व्यवस्था छ । परिषद्ले गरेको निर्णय सार्वजनिक भएलगत्तै रेक्टरको अध्यक्षतामा त्रिवि केन्द्रीय निर्वाचन अनुगमन कमिटी गठन हुनेछ । सोही समितिले देशैभरका क्याम्पसमा निर्वाचन कमिटी गठन गर्न निर्देशन दिनेछ ।

    केन्द्रीय निर्वाचन समितिले कार्यकारी परिषद्को निर्णयको आधारमा कार्यविधि निर्माण गर्नेछ । सोही कार्यविधिको आधारमा निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ । विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले कार्यकारी परिषद्को निर्णय प्राप्त हुनासाथ भर्ना गर्ने समय, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने मितिलगायतको सबै विषयमा क्याम्पसलाई निर्देशन दिने बताउनुभयो । उहाँका अनुसार मिति तय भएलगत्तै मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, उम्मेदवारको नाम फिर्ता, दाबी विरोध र निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।

    निर्वाचन मिति घोषणा हुनुअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गरेका थिए । कुलपति एवं प्रम दाहालको निर्देशनलगत्तै त्रिविले निर्वाचन गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै देशका ६२ आंगिकसहित करिब ५ सय सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन हुनेछ । त्रिविको तथ्याङ्कअनुसार देशभर १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

    विद्यार्थी कल्याण परिषद्ले करिब एक महिनाअघि त्रिविका डीन, संस्थान र निर्देशनालयका पदाधिकारीसहितको बैठकमा यो वर्ष निर्वाचन गर्ने लिखित सहमति गरेको थियो । त्रिविको शैक्षिक क्यालेन्डरअनुसार हरेक २–२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन उल्लेख छ । तर, सो तालिका भत्किएर यस पटक स्ववियु निर्वाचन चैत ५ गते सरेको छ । यसअघि २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।