× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँमा प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

    २ वर्ष पहिले

    माघ-९, तनहुँको घिरिङ गाउँपालिका–३, सुन्धारामा प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन्।

    चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई काठको लठ्ठीले प्रहार गर्दा १५ वर्षीया लिला आले घाइते भएकी छिन्।

    प्रधानाध्यापक आलेको कुटाइबाट घाइते भएकी आलेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरा झरौटामा उपचार भइरहेको छ।

    उनको पिठ्युमा लठ्ठीको डाम बसेको छ। लठ्ठी प्रहारबाट देब्रे खुट्टा टेक्न नहुने भएको तथा बस्न समेत नसक्ने भएकी आलेलाई एम्बुलेन्समा राखेर सोमबार बिहान अस्पताल ल्याइएको थियो।

    घटना आइतबार भएको हो। बिहानै अभिभावक विद्यालय पुगेपछि प्रधानाध्यापक थापाले नै समन्वय गरी एम्बुलेन्समा हालेर लिलालाई उपचारका लागि अस्पताल पठाएका थिए।

    उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीमध्ये ६/७ जनाबाहेक सबैले कुटाइ खाएको पीडित विद्यार्थीहरूले बताएका छन्।

    घाइते लिलाका अनुसार कक्षागत मूल्यांकनमा आफूले भनेजति प्राप्तांक नल्याएको भन्दै प्रधानाध्यापक थापाले १३/१४ पटकसम्म लठ्ठीले हानेका थिए।

    उनले भनिन्–‘हामीलाई टेष्ट दिनुभथ्यो। आफूले भनेजति प्राप्त अंक नल्याएर लठ्ठी लठ्ठीले ६ चोटी पिट्नु भको।’ देब्रे खुट्टा दुख्छ। टेक्न हुँदैन।’

    उनका अनुसार अर्की एक जना साथी पनि उनी जस्तै घाइते छिन्। तर उनी हिँड्न सक्ने भएकाले घरमै आराम गरिरहेको छिन्।लिलाले आइतबार राति सुत्ने बेलामा आमालाई फोन गरेर सरले कुटेको जानकारी गराउँदै आफूलाई लिन बोलाएकी थिइन्।

    आमा बेलिमाया भन्छिन् ‘पिसाब गर्न समेत जान नसकेर साथीहरूले बोकेर लगेको रहेछ। दुब्रे खुट्टा दुखेर रातभरि खुट्टा मिच्दै बसेछन्। हामीले हाम्रो बच्चालाई स्कुलमा कुटाउन पठाएको हो? प्रिन्सिपल सर भएर त्यस कुट्न त हुन्न नि। सम्झाउने बुझाउने हो। यस्तो सरलाई कारबाही हुनुपर्छ।’

    यस विद्यालयमा विद्यार्थी कुट्ने घटना बेलाबेला भइरहेको जेठो बुवा देवबहादुर आले बताउँछन्। उनले भने ‘ कुट्ने शिक्षकलाई हदैसम्मको कारबाही हुनुपर्छ। यसअघि पनि ३/४ पटक यस्तै घटना हुदाँ पनि कारबाही नगरेर होला यहाँ बेला बेला लफडा भइरहन्छ।’ उनले गाउँपालिकामा आआफ्नै मान्छे भएकाले पनि त्यहि मिलाउने गरेको बताए। ‘हामी अब मिल्न चाहानौँ, दोषीलाई कारबाही हुनुपर्छ’ उनले भने।

    उनले घटनाबारे इलाका प्रहरी कार्यालय भिमादमा निवेदन दिएका छन्। प्रहरीमा निवेदन दिएपछि थापाका अनुसार प्रधानाध्यापक थापाले फोन गरेर स्कुलमै मिल्न दबाब दिएका छन्।

    यता, प्रधानाध्यापक थापाले विद्यार्थीहरूलाई आफूले लठ्ठीले कुटेको स्वीकार गरेका छन्। तर उनले नियतवशभन्दा पनि विद्यार्थीहरूलाई आफूले भनेजति नम्बर नल्याए एउटा प्रश्न बराबर एक लठ्ठी हिर्काउने भनेर सहमति गराएको बताउँछन्।

    उनले भने ‘ कुट्नलाई मैले कुटेको हो। एक जनालाई होइन सामुहिक रुपमै कुटेको हो। कसैलाई २/३ लठ्ठी हाने, कसैलाई ३/४ लठ्ठी हाने।’ कक्षा १० मा मैले म्याथ (गणित) पढाउँछु। पौषमा भएको पालिकास्तरीय परीक्षामा आएको गणित विषयको प्रश्नपत्रको टेष्टमा पास भएनौ भने हिर्काउँछु नि तिमीहरूलाई भनेर पहिल्यै भनेको हो। एक नम्बर पुगेन भने एउटा लठ्ठी है भनेर भनेको हो। सबैलाई कन्मिन्स गराएर नै कुटेको हो।’ होस्टेलमा कुटेको हो मैले।’

    आफूले कुटेको कारण विद्यार्थी अस्पताल भर्ना नभएर पुरानो बिमार (कोखा दुख्ने) समस्याले गर्दा भर्ना हुनुपरेको प्रधानाध्यापक थापाको भनाइ छ। उनले आफूले गल्ती महसुस गरेको र अब विद्यार्थी नकुट्ने बताए।

    घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा मगरले अहिलेको समयमा विद्यार्थी कुटेर पढाउने शैली गलत भएको बताएका छन्। उनले घटनाका विषयमा छलफल भइरहेको र दोषीलाई आवश्यक कारबाही हुने बताए।

    अहिले विद्यालयमै विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र प्रहरीको सहभागितामा छलफल भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिए।

    उनले भने ‘हामी अहिले छलफलमै छौँ। छलफलको निष्कर्ष के आउँछ।’ सोही अनुसार प्रहरीले कारबाही अगाडि बढाउँछ।’ अन्नपूर्ण पोस्टबाट