× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सहिद गङ्गालाल प्रती हार्दिक श्रद्धाञ्जली- सुनिल उलक

    २ वर्ष पहिले

    आज माघ १५ सहिद गङ्गालाल श्रेष्ठ तथा सहिद दशरथ चन्द ठकुरीलाई शोभाभगवतीमा गोली हानिएको दिन । गङ्गालाल जन्म बि.सं. १९७५ मा रामेछापमा भएको थियो । तर उनको पुर्ख्यौली थलो भने किर्तिपुर थियो । काकासंगको कलकत्ता बसाइमा उतै शिक्षा आर्जन गरेका गङ्गालाल पछि काठमाडौ आएर दरवार हाई स्कुलमा भर्ना भए । यहिबाट बि.सं. १९९४ मा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरे । यसपछि त्रीचन्द्र कलेजमा आइएस्सी पढ्न गएका उनि त्यही राजनीति लाग्यो र राणाविरोधी आन्दोलनहरुमा होमिन पुगे ।

    १९९४ जेठमा महावीर स्कुलको स्थापना भयो र केही शिक्षकहरु पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थाले । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिए । उता नेपाल प्रजा परिषदका सदस्सहरु पनि समातिए । जसको फलस्वरुप १९९७ माघ ७ गते राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरु मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइएको थियो ।

    १. शुक्रराज शास्त्री जोशी, बाङगेमुढा, सर्वस्व र ज्यान सजाय

    २. धर्मभक्त श्रेष्ठ माथेमा, जोरगणेश, सर्वस्व र ज्यान सजाय

    ३. दशरथ चन्द ठकुरी, बैतडी, सर्वस्व र ज्यान सजाय

    ४. गङ्गालाल श्रेष्ठ, प्याफल, सर्वस्व र ज्यान सजाय

    ५. ना.सु. पूर्णनारायण प्रधान, न्हैकन्तला, सर्वस्व र ज्यान सजाय

    ६. टंकप्रसाद आचार्य, सिफल, सर्वस्व र मुडेर दामल गर्ने

    ७. रामहरी शर्मा उपाध्याय, ज्ञानेश्वर, सर्वस्व र मुडेर दामल गर्ने

    ८. गणेशमानसिंह श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण

    ९. चुडाप्रसाद शर्मा, आजन्म कैद र सर्वश्वहरण

    १०. हरिकृष्ण श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण

    ११. गोबिन्द प्रसाद उपाध्याय, आजन्म कैद र सर्वश्वहरण

    १२. पुष्करनाथ उप्रेती, आजन्म कैद र सर्वश्वहरण

    १३. बलबहादुर पाण्डे, आजन्म कैद र सर्वश्वहरण

    १४. जीवराज शर्मा, १८ वर्ष कैद

    यसमा ज्यान सजाय सुनाइएका पूर्णनारायणलाई फाँसीमा झुन्ड्याउने १९९७ माघ १९ गते श्रीपंचमीको दिन तय भएको थियो । त्यस दिन नयाँसडकको गेट नजिकै बाँस गाड्दै गरेको जुद्धशम्शेरले देखेपछि सोधे, “के गर्न लागेको ?” सिपाहीले “फाँसी दिनको लागी बाँस काट्दै गरेको सरकार” भन्ने सुनेपछि उनले भने श्रीपंचमीमा पनि कसैलाई फाँसी दिन्छ, उनलाई आजन्म कैदमा राख्ने निर्णय गरेँ भनेर हिडेछन । जसले गर्दा पूर्णनारायण आजन्म कैदमा राखियो । प्रजातन्त्रको प्राप्ती पछि उनि जेल मुक्त भए ।

    गङ्गालालको मृत्युदण्डको सजाय तोकिएको राती बिष्णुमतीको किनार शोभाभगवती मन्दिर नजिकै लगियो । दुइवटा खाँबोमा गङ्गालाल र दशरथ चन्दलाई बाँधियो । त्यसपछि अन्तिम अवसरको रुपमा माफी माग्न भनियो, तर दुवैले मानेनन् ।

    पहिले गङ्गालाललाई मृत्युदण्ड दिने भयो । नरशम्शेरले पोडेलाई गोली हान्न लगाए । काँपेको हातले गोली हान्दा तिघ्रामा लाग्यो । रगतको भल छुट्यो । चोटले ऐया गर्दै गङ्गालालले नरशम्शेरलाई “मर्दको छोरा होस भने छातीमा गोली हान” भनेर चिच्याए । फेरी दोश्रो गोली पोडेले हाने त्यो पनि काखीमा लागेर पछाडी छिर्यो । त्यसपछि नरशम्शेरले पिस्तोल खोसेर आफै छातीमा हाने । गङ्गालालको आवाज बन्द भयो । केवल २२ वर्षका होनहार युवा सदाको लागी बिदा भए । देशको लागी सहिद भए ।